सडक निर्माणमा अटेरी गर्ने यी ८ ठेकेदारलाई कारवाही गर्ने तयारी




काठमाडौं । डिभिजन सडक कार्यालय प्यूठानले ८ निर्माण व्यावसायीलाई सडक निर्माणमा ध्यान नदिएको भन्दै कारवाहीको चेतावनी दिएको छ ।

तोकिएको समयमा सडक निर्माण नगरेको र आलटाल गरेको भन्दै डिभिजन सडक कार्यालयले एक सूचना मार्फत कारवाही गर्ने चेतावनी दिएको हो ।

रोल्पा जिल्लाका विभिन्न सडक आयोजना निर्माणको जिम्मा लिएका ठेकेदारले राज्यलाई ढाटेको र निर्माण कार्यमा लापरवाही गरेको बताइएको छ ।

डिभिजन सडक कार्यालयले बिटि/दाप्चा जेभी रातोपुल काठमाडौं, बज्रगुरु कन्स्ट्रक्सन कम्पनी ललितपुर, जयन्ती/जलजला जेभी काठमाडौं, सूर्य/दाप्चा जेभी काठमाडौं, सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत, मृत सञ्जिवनी फर्म काठमाडौं र दिल निर्माण सेवालाई ७ दिन भित्र सडक निर्माण कार्य किन अगाडि नबढेको हो, कुन कुन प्रयोजनले निर्माण रोकिएको हो ? जानकारी दिन भनेको छ ।

यस्तै कारवाही गर्नु नपर्ने भए के कति कारणले नगर्नु पर्ने हो ? सो को विवरणसहित मध्यपश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय प्यूठानमा सम्पर्क राख्न सूचना मार्फत भनिएको छ ।

ती निर्माण व्यावसायीले २०७० सालमा लिएको ठेक्का हालसम्म पूरा नगरेको, सम्कर्पमा समेत नरहेको तथा निर्माण कार्य सुरु गर्ने समयमा लिएको रकमको समेत हिसाब किताब उल्लेख नगरेको सूचनामा उल्लेख छ ।

निर्माण कार्यमा लापरवाही गर्नेलाई कारवाहीको दायरामा ल्याउने भन्दै सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआए कालोसूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ ।


क्लिकमान्डु