आँखु हाइड्रोमा सनराइज बैंकको नेतृत्वमा ४ अर्ब ७२ करोड लगानी, आज सम्झौंता हुँदै



काठमाडौं । आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा ७ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।

धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको उक्त आयोजना हाइड्रो सोलसुनले प्रवद्र्धन गर्न लागेको हो ।

आँखु हाइड्रो पावर लिमिटेडका प्रमुख इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानकाअनुसार आयोजनामा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, बैंक अफ काठमाडौँ , सेन्चुरी बैंक, ज्योति विकास बैंक, लक्ष्मी बैंक, एनसिसि बैंक, प्रभु बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् ।

लगानी सम्बन्धी द्विपक्षीय सम्झौतामा आज मंगलबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको इन्जिनियर प्रधानले क्लिकमाण्डुलाई जानकारी दिए ।

कुल ६ अर्ब ३० करोड लागत रहेको सो आयोजनामा ७५ प्रतिशत बैंक तथा वित्तिय संस्थाको लगानी रहनेछ भने १६ करोड स्थानीयले लगानी गर्न पाउने गरी व्यवस्था गरिएको छ ।

यस्तै २४ करोड बराबरको साधारण सेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् ३० किलोमिटर लामो प्रसारण लाइन मार्फत नुवाकोटको त्रिशुली थ्री ए वा बीका लागि निर्माण गरिने सवस्टेशनमा जोडिनेछ ।

प्रसारण लाइन निर्माणसमेत आफै गर्ने तयारीका साथ आयोजना निर्माणमा जुटेको उनको भनाइ छ ।

आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजना धादिङमा निर्माण हुन लागेको महत्वपूर्ण आयोजना मध्ये एक हो ।

आँखु नदीमा थप चार आयोजना निर्माणको क्रममा रहेका छन् भने ९.६ मेगावाट क्षमताको आँखु जलविद्युत् आयोजना सञ्चालनमा छ ।


क्लिकमान्डु