‘कर्णाली स्टेज १’ जलविद्युत् आयोजना निर्माण प्रक्रियामा, स्थानीयलाई लगानीको अबसर



काठमाडौं । कर्णाली नदीको नेपालमा फरक फरक पहिचान छ । नेपालको सबैभन्दा लामो नदी, धेरै जलाधार क्षेत्र भएको तथा हाइड्रो हव कर्णालीका विशेषता हुन् ।

कुल १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिासापानी देखि ६८८ मेगावाटको बेतन कर्णालीसम्म सोही नदी क्षेत्रमा पर्दछ । यस्तै फूकोट कर्णाली देखि दुई दर्जन भन्दा बढी जलविद्युत् आयोजना सोही नदी क्षेत्रको सम्पत्तिको रुपमा परिचित छ ।

पछिल्लो पटक विद्युत् विकास विभागले कर्णली स्टेज १ जलविद्युत् आयोजना निर्माणका लागि प्रक्रिया सुरु गरेको छ । कर्णाली स्टेज १ जलविद्युत् आयोजनाले सो आयोजनालाई २९४ मेगावाट क्षमतामा निर्माण गर्ने प्रस्ताव गरेको छ ।

प्रदेश नं ६ को कालीकोट र दैलेख जिल्ला तथा प्रदेश नं ७ को अछामको सीमा भएर बहने कर्णाली नदीको पानी प्रयोग गरेर अर्ध जलाशययुक्त आयोजना निर्माणको प्रक्रिया सुरु भएको विभागले जानकारी दिएको छ ।

आयोजनाको हाल वातावरणिय प्रभाव मूल्यांकनको काम भइरहेको छ । कालिकोट जिल्लाको कालिका गाँउपालिका वडा नं १, २ र ३ साविकको भर्ता गाविसमा सो आयोजनाको निर्माण हुनेछ ।

कुल १९० मिटर लम्बाई र ६५ मिटर उचाईको बाँध बाँधी सोही गाँउपालिकामा विद्युत् गृह निर्माण गरी २.६५ किलोमिटर लामो सुरुङको माध्यमबाट पानी लगि कर्णाली नदीमा नै खसालिनेछ ।

आयोजनाको डिजाइन डिस्चार्ज ४३८.६९ मीटर क्युसेक रहेको रहेको छ भने ग्रस हेड ७३ मिटर रहेको छ । सो आयोजनाले २९४ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।

विभागले वातावरणीय प्रभाव मूल्यांकनका लागि विभिन्न ११ स्थानमा सुनुवाई हुने भएकाले त्यसमा सक्रियता पूर्वक सहभागी भइ सहयोग गर्न आग्रह गरेको छ ।

आयोजनामा स्थानीयलाई समेत लगानीका लागि आग्रह गरिनेछ । स्थानीय साधन र स्रोतको उपयोग गरी आयोजना अगाडि बढाइने भएकाले स्थानीयबासीको सक्रिय सहभागिताका लागि विभागले आग्रह गरेको छ ।


क्लिकमान्डु