बेरोजगारलाई सीप सिकाउँदै सरकार, घरमै बसेर दैनिक हजार कमाउन सकिने



काठमाडौं । तपाई बेरोजगार हुनुहुन्छ ? वा रोजगारीको खोजीमा हुनुहुन्छ भने भूकम्पपछिको पुनः निर्माण प्राधिकरणल सीप सिकौ, पुनः निर्माणमा योगदान गरौ र रोजगार बनौ भन्ने अवधारणा अगाडि सारेको छ ।

बेरोजगार युवालाई सीप सिकाएर रोजगार बनाउने र पुनः निर्माणमा समेत योगदान पुर्याउने लक्ष्यका साथ अभियान सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको समन्वयमा भूकम्प प्रभावित प्रमुख १४ जिल्ला र कम प्रभावित ३१ जिल्लामा नै पुनः निर्माण अभियान अगाडि बढीरहेको छ ।

प्राधिकरणले नै निर्देशित गरेको यस्तो अवसरमा सहभागी हुन प्राधिकरणले एक सूचना मार्फत आग्रह गरेको छ । प्राधिकरणकाअनुसार गाँउ गाँउमा डकर्मी, सिकर्मी तालिम दिइराखिएको छ ।

त्यस्ता तालिममा सहभागी हुन भूकम्प प्रभावित जिल्लाका गाँउपालिका तथा नगरपालिका तथा तिनका वडा कार्यालयमा सम्पर्क राख्न समेत प्राधिकरणले अनुरोध गरेको छ ।

तालिममा सहभागी भएर सीप पनि सिक्ने सकिने र गाँउ घरमै राम्रो रोजगारीको अवसर समेत खुल्ने प्राधिकरणको भनाइ छ । सीप भए नेपालमा कामको कुनै कमी नभएको र भूकम्पपछिको पुनः निर्माणमा समेत योगदान पुग्ने जनाइएको छ । भूकम्पबाट क्षति भएका ८ लाख बढी घर पुनः निर्माणको क्रममा रहेको छ ।

सीप सिकेका युवाले गाँउमै न्यूनतम दैनिक १ हजार रकम कमाउन सक्नेछन् । पुनः निर्माणमा सहभागी तालिम प्राप्त डकर्मी तथा सिकर्मीले राम्रो कमाइ गरिरहेको बताइन्छ ।

गाँउ गाँउमा सीपयुक्त युवाको अभाव छ । धेरै जसो युवा वैदेशिक रोजगारीमा छन् । तालिम लिएका पनि पाउन मुस्किल छ । त्यसकारण प्राधिकरणले तालिममा सहभागी हुन आग्रह गरेको हो ।

विभिन्न स्वदेशी तथा विदेशी सहयोगी संस्थाको सहयोगमा प्राधिकरणले तालिम दिइरहेको छ । त्यस्ता तालिम दिने संस्था ५० भन्दा बढी रहेका छन् ।


क्लिकमान्डु