नेपालमा जलविद्युत उत्पादनको क्षमता कति ? बल्ल अध्ययन थालियो




काठमाडौं । नेपालको जलविद्युत्को क्षमता कति हो ? सामान्य रुपमा प्रश्न सोध्ने हो भने धेरैले जवाफ दिदै आएको उत्तर हो ८३ हजार मेगावाट ।

इन्जिनियर हरिमान श्रेष्ठले रसियामा विधावारिधिका लागि पेस गरेको थेसिसका आधारमा नेपालको जलविद्युत् क्षमताका बारेमा चर्चा परिचर्चा मात्रै गरिएन, त्यसलाई नै आधार मानेर नीति निर्माण समेत गरियो ।

सन् १९७० को दशकमा तयार पारिएको उक्त थेसिसलाई आधार मानेर नेपालको समग्र जलविद्युत् क्षेत्रको बारेमा प्रतिवेदन बनाइयो । सरकारी अधिकारीले त्यसैलाई आधार बनाएर कार्यक्रम, योजना मात्रै बनाएनन्, सामान्य ज्ञान र लोक सेवा आयोगका परीक्षामा समेत त्यसैलाई स्थापित गरियो ।

सोही थेसिस मात्रै आधिकारिक हो कि होइन भन्ने बारेमा सरकारले लामो समयसम्म कुनै अध्ययन नै गरेन । कुनै वस्तुनिष्ठ तथ्यांक बनाउने तर्फ सरकारले कुनै पहल पनि गरेन । तर पछिल्लो पटक जल तथा ऊर्जा आयोगले नेपालको जलविद्युतको वास्तविक क्षमता पत्ता लगाउने प्रयास गरेको छ ।

केही समय पहिल्यै त्यसको वास्तविक प्रतिवेदन तयार पारेर सार्वजनिक गर्नुपर्ने भएपनि त्यसो भने हुन सकेको छैन । तर, कुल क्षमता पत्ता लगाउने तयारीका साथ आयोगले काम भने गरिरहेको छ । आयोगले परामर्शदाता मार्फत नेपालको जलविद्युत उत्पादन क्षमताको बारेमा अध्ययन थालेको जानकारी दिएको छ ।

आयोगले नेपालका प्रमुख नदीहरुको बेसिनका आधारमा अध्ययन गरिरहेको छ । आयोगले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा नेपालको जलविद्युत्को कुल क्षमता करिब २ लाख मेगावाटको हाराहारीमा पुग्ने छ ।

पछिल्लो समयमा विकसित भएको प्रविधि तथा जलविद्युत् आयोजना निर्माणमा आएका नयाँ नयाँ खोजले समेत जलविद्युतको क्षमता ह्वात्तै बढ्ने देखिएको हो ।

कुन स्थानमा जलाशययुक्त आयोजना बनाउने र कुन स्थानमा नदी प्रवाही आयोजना बनाउने वा कुन स्थानमा अर्धजलाशययुक्त आयोजना बनाउने भन्ने सन्दर्भमा समेत ठोस खाकाका साथ प्रतिवेदन तयार हुने क्रममा रहेको आयोगले जनाएको छ ।

विदेशमा आयोजना हुने सम्मेलन तथा गोस्ठीहरुमा समेत नेपालको जलविद्युतको कुल क्षमता कति हो भन्ने बारेमा ठोस र आधिकारिक तथ्यांक नै नभएपछि लाजमर्दो स्थिति छ । यस्तो अबस्था आएपछि तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले आयोगलाई समेत गति दिने लक्ष्यका साथ सो प्रतिवेदन तयार पार्न निर्देशन दिएका थिए ।

आयोगका एक अधिकारीले प्रतिवेदन तयारीको क्रममा रहेको केही समय अझै लाग्ने जानकारी दिए । सो प्रतिवेदन तयार भएपछि नेपालको जलविद्युत् क्षेत्रको वास्तविक क्षमता पत्ता लाग्ने उनले बताए ।


क्लिकमान्डु