चिया खेती किसानलाई सहयोग गर्न ७५ लाख रुपैयाँ



भोजपुर । भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि ठूलो रकम विनियोजन गरिएको छ ।

चिया खेती गर्ने किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने गरी रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । स्थानीय सरकार निर्माण भएपछि पहिलो पटक सम्पन्न गाउँपरिषद्ले चिया खेती विस्तारका लागि ७५ लाख रुपैयाँ रकम विनियोजन गरेको जनाएको छ । रकम सोही गाउँपालिकाको मातहतमा रहनेछ ।

चिया खेतीका लागि प्रशस्त सम्भाव्यता बोकेको जिल्ला भोजपुरमा हाल यहाँका किसानले फाट्फुट रुपमा चिया खेती गर्ने गरेको भएपनि व्यावसायिक रुपमा चिया विस्तार नभइरहेको स्थानीयवासी दीपक राईले जानकारी दिए ।

गाउँपालिकाको निःसर्त र सशर्त गरी कूल २६ करोड ६३ लाख रुपैयाँ रकममध्ये ७५ लाख रुपैयाँ चिया खेतीका लागि विनियोजन हुनु स्थानीयवासीका लागि खुशीको कुरा  भएको उनले बताए।

यसअघि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोजपुरको आमचोक गाउँपालिकाको समेत नमूना माटो परीक्षण गर्दा चिया खेतीका लागि उपयुक्त ठाउँ मानेको छ ।


क्लिकमान्डु