इनरुवा र रंगेलीमा ३६ प्रतिशत विद्युत् चुहावट, किन लाचार छ प्राधिकरण



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको पूर्वाञ्चल क्षेत्रीय कार्यालय मातहत रहेका इनरुवा र रंगेली वितरण केन्द्रमा सबैभन्दा बढी विद्युत् चुहावट हुने गरेको पाइएको छ ।

प्राधिकरणले गरेको आन्तरिक अध्ययनका क्रममा ती दुवै वितरण केन्द्रमा ३६ प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको हो ।

पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा १७ वटा वितरण केन्द्र रहेका छन् । समग्रमा सो क्षेत्रको विद्युत् चुहावट १७.६५ प्रतिशत रहेको भए पनि केही वितरण केन्द्रमा भने अत्यधिक मात्रामा विद्युत् चुहावट हुने गरेको पाइएको छ ।

प्राधिकरणले चालू आवको अन्त्यसम्म उक्त क्षेत्रीय कार्यालय मातहतका निकायको विद्युत् चुहावटलाई तीन प्रतिशतले घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत कात्तिक मसान्तसम्म कूल चुहावट घटाएर १५.९२ बिन्दुमा झारेको छ । विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रमा १७.६५ प्रतिशत चुहावट हुने गरेको छ ।

प्राधिकरणका अनुसार दुहवी वितरण केन्द्रमा ८.९ प्रतिशत, खाँदबारी र भोजपुर वितरण केन्द्रमा नौ प्रतिशत चुहावट हुने गरेको छ । विराटनगर वितरण केन्द्रमा १४, भद्रपुरमा १६, अनारमणिमा २२, इलाममा २४, बेलबारीमा २६, तेह्रथुममा १७, धरानमा ११ र धनकुटामा २० प्रतिशत चुहावट हुने गरेको छ ।

चुहावट नियन्त्रणका लागि शहरी क्षेत्रमा नेपाल प्रहरीको सहयोगमा द्रुत टोली परिचालन गरिएको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख ब्रजभूषण चौधरीले जानकारी दिए । उनका अनुसार विद्युत् महसुल नबुझाएका ग्राहकको गत कात्तिक मसान्तसम्म लाइन काटेर कारबाही गर्दा रु ३९ करोड रकम उठेको छ ।

यस्तै विद्युत् चोरीमा संलग्न ५७ जनालाई कारबाही गरिएको छ । चुहावट नियन्त्रण अभियान चलाएपछि मात्रै रु २३ लाख तीन हजार २२७ रकम उठेको छ । यस्तै प्राधिकरणले ४८३ वटा हुुकिङ सामग्री र १०९ वटा अन्य उपकरणसमेत जफत गरेको छ ।


क्लिकमान्डु