चन्द्रबहादुर कार्कीः जसले एक हजारको लगानीलाई १ करोड बनाए



बेनी । आजभन्दा ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ १ हजार रुपैँया लगानीबाट कृषि पेशा शुरु गरेका म्याग्दीको बेनी नगरपालिका-२ खबराका चन्द्रबहादुर कार्की अहिले १ करोडभन्दा बढी सम्पत्तिको मालिक बन्न सफल भएका छन् ।

सँगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगेका भएपनि कार्कीको प्रगति देखेर उनीहरु पनि आश्चर्य चकित हुने गरेका छन् ।

२०३४ सालमा १८ वर्षको उमेरदेखि १ हजार रुपैँया लगानीबाट कृषि पेशा शुरु गरेका कार्की अहिले जिल्लाका नमूना कृषक र कृषि पेशाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन् ।

आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत हुन ।

कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछा पालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका छन् ।

‘मैले १८ वर्षको उमेरदेखि तरकारी खेती शुरु गरेको हुँ’ कार्कीले विगत कोट्याउँदै भने, ‘त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै अफर आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।’

१ हजार रुपैँया लगानीबाट शुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले १ करोडभन्दा बढीको मालिक बनाएको छ । तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले अत्यन्तै महँगो शहरमध्येमा पर्ने बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घरसमेत बनाइसकेका छन् ।

‘माटोसँग खेल्दा र माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ’, कार्कीले भने- ‘यही माटोमा गरेको परिश्रमले मलाई यहाँसम्म ल्याइपुर्यायो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न मैले यत्तिको कमाउन सक्थेँ, न मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो,’ कार्कीको भनाइ छ । रासस


क्लिकमान्डु