दिल्ली पुगेर कुलमानले गरे तीन महिनाका लागि विद्युत् खरिद सम्झौता



काठमाडौ । नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्गबीच भारतको नयाँ दिल्लीस्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौताको नवीकरण भएको हो ।

बुधबार बिहानै उक्त सझौता नवीकरणका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको उच्चस्तरीय टोली नयाँ दिल्ली प्रस्थान गरेको थियो । नयाँ दिल्लीबाट कार्यकारी निर्देशक घिसिङले आगामी तीन महिनाका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको जानकारी दिए ।

सो क्रममा प्राधिकरणका निर्देशक घिसिङ, भारतीय ऊर्जा मन्त्रालयका अधिकारी र एनभिभीएनका अधिकारीबीच विद्युत् आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विषयमा छलफल भएको थियो ।

ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही पुस १६ गतेदेखि सकिँदै थियो । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसाअर्थात ३.६० भारुमा आयात भइरहेको छ ।

भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्रवाहमा सहजता ल्याउनका लागिसमेत थप विद्युत् जरुरी रहेको बताइएको छ ।

सम्झौतापछि प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने ‘नेपालको सुख्खा यामकालागी यो संझौता महत्वपूर्ण यस कारण पनि हो कि नेपालका नदीनालामा जलबहाव घट्दै जाँदा बिद्युत आपूर्तिमा सहजताका लागि यो सम्झौता नविकरण भएको हो ।’

सम्झौता मार्फत नेपालले ढल्केबर मुजफरपुर प्रसारण लाईनबाट १६० मेगावाट सम्म बिद्युत लिन सक्नेछ ।

यो सम्झौता नविकरणको परिणाम स्वरुप सो प्रसारण लाईनबाट नेपाल भारत उर्जा सचिब स्तरीय संयुक्त स्टीयरिङ्ग समितीको बैठक नबसुन्जेल तीन महिना सम्मका लागि गी साबिक खरिद दर . तीन रुपैयाँ ६० पैसा भारु प्रती युनिट्मा नै नेपाल लाई बिद्युत उपलब्ध हुनेछ ।

भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न उक्त सम्झौतामा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुण कुमार गर्गले हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर अघी भारतको विद्युत मन्त्रालयमा भारत सरकार बिद्युत मन्त्रालयका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा बैठक बसेको थियो ।

बैठकमा थप अन्तरदेशिय पसारण लाइन निर्माण, प्रसारण लाइनको एकरुपतालगायतका विषयमा समेत छलफल भएको थियो ।


क्लिकमान्डु