भूकम्पपछिको पुनः निर्माणमा चरम लापर्वाही, १७ प्रतिशतले मात्रै पाए दोस्रो किस्ता



काठमाडौं । गोरखा भूकम्प गएको तीन वर्ष पुग्न लाग्यो । तर भूकम्पपछिको पुनः निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको स्वयम् प्राधिकरणले प्रकाशित गरेको तथ्यांकले स्पष्ट पारेको छ ।

प्राधिकरणले ७ लाख ६७ हजार ७०५ घरधुरी लाभग्राहीको सूचीमा राखेको छ । कुल ९ लाख ९६ हजार ५८२ घरधुरीको सर्वेक्षण गरेको छ । त्यसमध्ये कुल ६ लाख ६७ हजार ८४९ घरधुरीसँग सम्झौता गरेको छ ।

त्यस्तै प्रबलीकरण लाभग्राहीमा २४ हजार ९९१ घरलाई राखेको छ । तर पुनः निर्माण भने ४० प्रतिशत मात्रै भएको छ । प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार कुल ७९ हजार ५१४ घर मात्रै हालसम्म पुनः निर्माण भएको छ ।

कुल १ लाख ९४ हजार १९६ घर मात्रै निर्माणको क्रममा रहेको छ । यी सबै निजी आवास भएको प्राधिकरणले जनाएको छ ।

कुल ६ लाख ६४ हजार ६४४ घरधनीले पहिलो कस्तिा वापत ५० हजार लिएपनि दोस्रो किस्ता मात्रै १७ प्रतिशतले लिएका छन् । त्यो भनेको १ लाख १५ हजार १९२ हो । तेस्रो किस्ता लिनेको तथ्यांक भने झनै कमजोर रहेको छ । कुल २६ हजार ४५४ ले मात्रै तेस्रो किस्ता लिएका छन् ।

स्वास्थ्य संस्था तर्फ १ हजार १९७ निर्माण गर्नुपर्नेमा २५७ मात्रै पुनः निर्माण भएका छन् । त्यसमा ११९ वटा निर्माणको क्रममा छन् । शैक्षिक संस्था तर्फ ७ हजार ५५३ निर्माण गर्नुपर्नेमा हालसम्म २ हजार ७४१ वटा पुनः निर्माण भएका छन् भने हाल १ हजार ४ वटा पुनः निर्माणको क्रममा छन् ।

सरकारी भवन तर्फ ४८३ वटा पुनः निर्माण गर्नुपर्नेमा हालसम्म १७७ वटा पुनः निर्माण सम्पन्न भएका छन् । २०३ वटा पुनः निर्माणको क्रममा छन् । पूरातात्विक सम्पदामा ७५३ वटा निर्माण गर्नुपर्नेमा ७९ वटा मात्रै निर्माण भएका छन् भने ३१४ वटा निर्माणको क्रममा छन् । सुरक्षा निकायका ३८३ वटा पुनः निर्माण गर्नुपर्नेमा ४४ वटा सम्पन्न भएका छन् भने १४० वटा मात्रै निर्माणको क्रममा छन् ।

पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनः निर्माणमा गति दिन नसकिएको स्वीकार गरे । तीन वर्षमा तीन वटा प्रमुख कार्यकारी अधिकृत फेरिइसकेका छन् ।


क्लिकमान्डु