भारतले १ सय ४५ मेगावाट बिजुली दिन्न भनेपछि आज बिहानै दिल्ली गए कुलमान



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

विद्युत् आयातमा देखिएको समाय समाधान गर्ने लक्ष्यका साथ घिसिङ नेतृत्वको टोली त्यसतर्फ जान लागेको प्राधिकरणले जनाएको छ ।

भारतबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको भविस्यमाथि प्रश्न चिन्ह लागेको र भारतीय पक्षले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् बिक्रीको सस्म्झौता नविकरण गर्न आलटाल गरेपछि उच्चस्तरीय टोली त्यसतर्फ जान लागेको हो ।

घिसिङका साथ प्राधिकरणका उच्च टोली विद्युत् आयातका सम्बन्धमा छलफल गर्न त्यसतर्फ जाने लागेको बताइएपनि थप विवरण भने सार्वजनिक गरिएको छैन ।

भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडका अधिकारीसंग बिजुली आयात निरन्तरता दिनका लागि सम्झौता नविकरण गर्न घिसिङ नेतृत्वको टोली दिल्ली जान लागेको बताइएको छ ।

एनभीभीएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा जवाफ नआएपछि कार्यकारी निर्देशक घिसिङ दिल्ली जान लागेको प्राधिकरणका एक अधिकारीले बताए ।

ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिदै छ । सम्झौता सकिने भएपछि भारतबाट १४५ मेगावाट बिजुली आपूर्ति बन्द हुने आशंका बढेपछि पुनः सम्झौता नविकरण गर्न लागिएको स्रोतले जनाएको छ ।

ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ ।

भारतबाट विद्युत् उपलब्ध हुन नसकेमा पुनःलोडसेडिङ हुने आशंका बढेको भन्दै प्राधिकरणले दिल्ली बैठकलाई महत्वपूर्ण बैठकको रुपमा लिएको छ ।

भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्रवाहमा सहजता ल्याउनका लागि समेत थप विद्युत् जरुरी रहेको बताइएको छ ।

प्राधिकरण प्रबक्ता प्रबल अधिकारीले भारतीय पक्षसँग बिद्युत आयातका बिषयमा सम्झौता गर्न कार्यकारी निर्देशक घिसिंङ र आफू दिल्ली उडन लागेको बताए ।


क्लिकमान्डु