‘जनतालाई देखाउन’ १५ सय मिटर सडक पिच गर्दै सरकार




काठमाडौं । सरकारले नागढुङ्गादेखि उत्तरतर्फको १५ सय मिटर सडक फागुनभित्रमा पिच गर्ने भएको छ ।

नागढुङ्गादेखि उत्तरतर्फको बिस्तारको काम सकिएको १५ सय मिटर सडक फागुनभित्रमा पिच गर्न ठेकेदारलाई निर्देशन दिइएको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका इन्जिनियर प्रदिप श्रेष्ठले जानकारी दिए ।

‘सडक विस्तारका क्रममा उड्ने धुलो–धुँवाका कारण आम मानिसले निकै सास्ती व्यहोर्नु परेको छ, जनतलाई देखाउनका लागि भएपनि फागुनसम्ममा नागढुङ्देखि १५ सय मिटर सडक पिच गर्ने छौं,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

नागढुङ्देखि उत्तरसम्मको १५ सय मिटर सडक चौडा पार्ने र ढल हाल्ने काम सकिसकेको छ । सो क्षेत्रमा सडक पिच गर्नका लागि कुनै अवरोध छैन । चिसो मौसममा पिच गर्दा गिट्टी राम्रोसँग टाँसिन नसक्ने भएकाले ठेकेदारलाई फागुनसम्मको समय दिइएको उनी बताउँछन् ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठ निर्धारित समयमा काम सम्पन्न गर्नका लागि सो सडक खण्डलाई ४ वटा सेक्टरमा विभाजन गरेर ठेक्का लगाइएको जानकारी दिन्छन् ।

उनका अनुसार हालसम्म ४० प्रतिशत सडक विस्तारको काम सकिसकेको छ ।

‘मुद्दा मामिला, मुअब्जा विवाद र मेलम्ची खानेपानीको पाइप विछ्याउने कार्यका कारण लक्ष्य अनुसार काम गर्न सकिएन, सडक विस्तार भईसकेका क्षेत्रमा ठेकेदार कम्पनीले पिच गर्दै जाने छन्,’ उनले भने ।

शैलुङ्ग कन्स्ट्रक्सनले नागढुङ्गादेखि उत्तरतर्फको ३ किलोमिटर सडक विस्तार गर्ने काम गरिरहेको छ । शैलुङ्ग कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर नरनाथ पौडेल १५ सय मिटर सडक पिच गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको जानकारी दिन्छन् ।

‘सडक पिच गर्नुका लागि सर्वप्रथम जमिनमूनीबाट निस्किने पानीको व्यवस्थापन गर्नु पर्ने देखिएको छ, त्यो व्यवस्थाप गर्न सकिएमा फागुनभित्रमा पिच गर्न सम्भव हुन्छ’ उनले भने ।

जाडो मौसममा पिच गर्दा ठेकेदारलाई मर्का पर्ने भएकाले ३ महिनाको समय दिइएको निर्देशनालयका इन्जिनियर प्रदिप श्रेष्ठले बताउँछन् ।

त्यही समय भित्रमा उनीहरुले पानीको व्यवस्थापन गरेर फागुन महिनाभित्रमा सडक पिच गर्ने गरि ठेकेदारलाई निर्देशन जारी भईसकेको उनी बताउँछन् ।


क्लिकमान्डु