सोलार प्लान्टबाट घर-घरमा उत्पादन हुने विजुली किन्दै प्राधिकरण, प्रतियुनिट ७ रुपैयाँ पाइने



काठमाडौं । तपाईले आफ्नो घर तथा आवासमा सौर्य प्रणाली जडान गर्नुभएको छ । तपाईलाई दिउँसोका समयमा सौर्य बत्ती जरुरी छैन भने अब तपाईले त्यस्तो बत्ती बेच्न सक्नुहुन्छ ।

नेपाल विद्युत् प्राधिकरणले त्यस्तो बत्ती किन्ने भएको हो । घर तथा आवासमा उत्पादन भएको सौर्य बत्ती बेच्नका लागि आवश्यक प्रक्रिया सुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले तपाईले घर तथा आवासमा उत्पादन गरेको सौर्य ऊर्जा खरिदका लागि कार्यविधि पारित भइसकेको छ ।

उक्त कार्यविधि अनुसार अब घरायसी प्रयोजनाका लागि उत्पादन भएको विद्युत् समेत प्रतियुनिछ ७ रुपैयाँ ३० पैसामा बेच्न सकिनेछ ।

प्राधिकरणले त्यस्तो विद्युत् खरिदका लागि लेऊ वा तिर अवधारणा अन्तर्गत खरिद गर्ने भएको छ ।

त्यस्तो सौर्य ऊर्जा पहिलो पटक तीन वर्षका लागि विद्युत् खरिद सम्झौता गरिनेछ ।

हरेक वर्ष ३ प्रतिशतका दरले आठ पटक थप वार्षिक वृद्धि गर्न सकिने कार्यविधिमा उल्लेख छ । प्राधिकरणले ५०० वाटदेखि १० किलोवाटसम्मको घरायसी र १० किलोवाटदेखि माथिका संस्थागत सोलारका साथै ५ सय किलोवाटमाथि व्यापारिक आयोजनाबाट उत्पादित सौर्य ऊर्जा समेत खरिद गर्ने भएको छ ।

एक मेगावाटभन्दा कम जडान क्षमताका सौर्य ऊर्जा प्रणाली तथा संस्थागत रुपमा वा व्यापारिक हिसाबले निर्माण गरिएका आयोजनाको समेत विद्युत् खरिद गर्न सक्नेछ ।

त्यस्ता आयोजनाका लागि सरकारले उपलब्ध गराउने छुट तथा सुविधा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत प्राप्त गर्न सक्ने गरी वइवस्था मिलाइएको छ ।

अब घरमा उत्पादित सौर्य ऊर्जा दिनभर प्राधिकरणलाई बेच्ने र साँझपरेपछि प्राधिकरणमार्फत लिएर प्रयोग गर्न सकिने भएको छ ।

त्यसका लागि प्राधिकरणले घर वा आवासमा नेट मिटरिङ गर्नेछ । त्यसैका आधारमा तपाईले कति बिजुली बेच्नुभयो र कति खरिद गर्नुभयो भन्ने हिसाब हुने प्राधिकरणले जनाएको छ ।

वैकल्पिक ऊर्जालाई समेत राष्ट्रिय रुपमा स्थापित गर्ने र ऊर्जा उत्पादनमा जोड दिने लक्ष्यका साथ त्यस्तो कार्ययोजना ल्याइएको हो ।


क्लिकमान्डु