भाडामा लिएको जग्गामा अर्ग्यानिक तरकारी खेती, २२ लाख लगानीमा फार्म शुरु



झापा । मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अग्र्यानिक कृषि फार्म शुरु गरेका छन् ।

युवाले स्थापना गरेको सो ‘फोइडिटा कृषि फार्म’ले उत्पादन गरेको पहिलो बालीका रुपमा काउली, बन्दागोभी र रायोको साग बजारमा ल्याइसकेको छ ।

‘हाम्रा सबै उत्पादन विषादीरहित हुन्छन्, सबैको साथ पाए नमूना कृषि फार्मका रुपमा मुलुकभर चिनाउने योजना छ,’ फार्मका सञ्चालक धुलाबारी निवासी तेजबहादुर आचार्यले भने ।

आचार्यसँगै रामहरि नेपाल, तेजबहादुर आचार्य, धननारायण श्रेष्ठ, इन्दिरा कार्की, राजेन्द्र कडरिया, चिरञ्जीवी भट्टराईलगायत समूहले २२ लाख रुपैयाँको लागतमा यसैवर्षदेखि फार्म शुरु गरेको हो ।

अनुत्पादक कासघारीका रुपमा रहेको बाँझो जमिन भाडामा लिएर उनीहरुले तरकारी उत्पादन गरेका हुन् । उत्पादन भएको काउली र रायो फार्मबाटै बिक्री भइरहेको सञ्चालक चिरञ्जीवी भट्टराई बताउँछन् । फार्ममा लसुन, आलु, खुर्सानीलगायत तरकारी हुर्किरहेको छ । छिट्टै हाइटेक टनेल निर्माण गरेर बाह्रमासे सब्जी र नर्सरी उत्पादनको तयारी भइरहेको उनले बताए ।

फार्ममा झापा, सोलुखुम्बु र ताप्लेजुङका गरी १६ जना जेटिएका विद्यार्थी अध्ययनरत छन् । उनीहरुले फार्ममै अध्ययन तथा बालीको रेखदेख र स्याहार गर्दैआएको सञ्चालक रामहरि नेपालले बताए । ‘बजारको समस्या छैन,’ उनले भने ।


क्लिकमान्डु