धान उत्पादनमा वृद्धि



कलैया । यस वर्ष बारामा धान उत्पादनमा वृद्धि भएको छ ।

समयमै पटक पटक पानी परेका कारण धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए ।

साउनको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण  बाढीले धानखेतीमा केही क्षति पुर्याएपनि उत्पादनमा कमी नआएको साहले बताए।

आव २०७४/७५ मा कृषकले करिब ४१ हजार हेक्टरमा सोना मन्सुली, सावित्री, स्वर्णसव–१ सावा, मन्सुली र राधा–११ जातको अगहनी धानखेती गरेका थिए । सो क्षेत्रफलमा कूल एक लाख ८४ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ ।

उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार ४०० देखि रु दुई हजार ५०० मूल्यमा बिक्री भइरहेको छ । कूल चार अर्ब ६१ करोड २५ लाख रुपैयाँ बराबरको एक लाख ८४ हजार ५०० मेट्रिक टन अगहनी धान उत्पादन भएको छ ।

गत आवमा कूल ४१ हजार १३१ हेक्टर क्षेत्रमा विभिन्न जातको अगहनी धानखेती गरिएको थियो । दुई अर्ब ७३ करोड ५१ लाख ८७ हजार रुपैयाँ बराबरको एक लाख ३० हजार २४७ मेट्रिक टन अगहनी धान उत्पादन भएको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु