मोबाइलमा इन्टरनेटः भारतमा भन्दा नेपालमा निकै छिटो चल्छ



काठमाडौ । पछिल्लो दिनहरुमा ईन्टरनेट स्पीड बढाउँदै ग्राहकहरुलाई आकर्षित गर्ने क्रम चलिरहेको छ । त्यसैगरि टेलीकम कम्पनीहरुले डाटाको बजारमा ध्यान दिँदै तिब्र गतिको मोबाइल इन्टरनेटका लागि फोरजी सेवामा आकर्षित गरिरहेका छन् ।

हाल नेपालमा तीनवटा टेलिकम कम्पनीहरुले फोरजी सेवा प्रदान गरिरहेका छन् । तर नेपालमा मोबाइल इन्टरनेटको स्पीड निकै कमजोर रहेको स्पीड टेस्टको विश्वव्यापी इन्डेक्सले देखाउँछ ।
त्यस्तै नेपालको ब्रोडब्याण्ड इन्टरनेट स्पीड विश्वका विभिन्न देशहरुको तुलनामा निकै कमजोर रहेको तथ्यांकमा देखिन्छ । नेपाल विश्वको ब्रोडब्याण्ड इन्टरनेटको सूचीमा निकै पछाडि रहेको छ ।

ओक्लाकाअनुसार नेपाल मोबाइल स्पीडको आधारमा हेर्दा ९९ औं स्थानमा रहेको छ । स्पीडटेस्टकाअनुसार नेपालको नोभेम्बर महिनाको मोबाइल स्पीडटेस्ट अघिल्लो महिनाको तुलनामा ६ स्थान तल झरेको हो ।

सो तथ्यांकअनुसार नेपालमा मोबाइलको औसत डाउनलोड स्पीड १०.९७ एमबीपीएस रहेको छ । जुन छिमेकी मुलुक भारत, सार्क मुलुक श्रीलंका, अफगानिस्तान, बंगलादेश भन्दा निकै माथि रहेको छ । भारत १०९ औं स्थानमा छ भने श्रीलंका १०७ औं स्थानमा रहेको छ ।

नेपालपछि सार्क मुलुकमा श्रीलंका रहेको छ जसको मोबाइल इन्टरनेट स्पीड ९.३२ एमबीपीएस रहेको छ भने भारतको ८.८० एमबीपीएस डाउनलोड स्पीड रहेको छ । मोबाइलतर्फ नेपालभन्दा माथि सार्क मुलुकमा पाकिस्तान ८९औं स्थानमा रहेको छ, जसको मोबाइल डाउनलोड स्पीड १३.०८ एमबीपीएस छ ।

मोबाइल डाउनलोड स्पीडतर्फ नोभेम्बर महिनामा नर्वे पहिलो स्थानमा रहेको छ, जसको डाउनलोड स्पीड ६२.६६ एमबीपीएस रहेको छ । त्यसैगरि दोस्रो स्थानमा नेदरल्याण्ड छ भने तेस्रो स्थानमा आइसल्याण्ड रहेको छ ।

नेपाल मोबाइल स्पीड हेर्दा अपलोडतर्फ केबल ५.०६ एमबीपीएस मात्र रहेको तथ्यांकमा उल्लेख छ ।

अर्कोतर्फ नेपालको ब्रोडब्याण्ड इन्रटनेटको गतिमा ध्यान दिँदा नेपाल ९९औं स्थानमा रहेको छ । जहाँ नेपालले सार्क मुलुकहरु पाकिस्तान र माल्दिभ्सलाई उछिनेको छ । तर यो श्रीलंका, बंगलादेश र भारतको फिक्स्ड ब्रोडब्याण्ड गति भन्दा निकै तल रहेको देखिन्छ ।

नेपालको फिक्स्ड ब्रोडब्याण्डको डाउनलोड स्पीड १४.०५ एमबीपीएस रहेको छ भने अपलोड स्पीड १२.१४ एमबीपीएस रहेको छ । छिमेकी मुलुक भारतको फिस्क्ड ब्रोडब्याण्ड डाउनलोड स्पीड १८.८२ एमबीपीएस रहेको छ भने बंगलादेशको १६.१४ एमबीपीएस डाउनलोड स्पीड रहेको छ ।

फिस्क्ड डाउनलोडको शिर्ष तीनको सूचीको पहिलो स्थानमा सिंगापुर रहेको छ, जसको डाउनलोड स्पीड १४७.५१ एमबीपीएस रहेको छ भने दोस्रो स्थानमा १३३.९४ एमबीपीएस डाउनलोड स्पीडसहित हंगकंग रहेको छ, यसअघि हंगकंग पहिलो स्थानमा रहेको थियो ।

त्यस्तै १२७.४५ एमबीपीएसको डाउनलोड स्पीडसहित दक्षिण कोरिया तेस्रो स्थानमा रहन सफल भएको छ ।


पुष्प दुलाल