भारतीय सस्तो प्याज वीरगञ्जमा, काठमाडौंमा पनि पार्इने
वीरगञ्ज । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि दैनिक १५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भारतीय प्याज वीरगञ्ज बजारमा भित्रिने गरेको छ ।
अहिले दैनिक एक हजार क्विन्टल प्याज भित्रिने गरेको छ । यहाँका व्यापारीले भारतको रक्सौलबाट साइकलमा दैनिक प्याज ल्याउने गरेका छन् ।
प्याजको लागि मुख्य मण्डी मीनाबजार हो । यहाँ करिब १५ जना थोक व्यापारी छन् । यहाँबाट प्याज पोखरा, काठमाडौं, नारायणघाटलगायत क्षेत्रमा बिक्री गरिन्छ । वीरगञ्जमा प्याजको मूल्य प्रतिकिलो ७२ रुपैयाँ पर्छ । यहाँका व्यापारीले प्याज खुद्रामा प्रतिकिलो १ सय रुपैयाँमा बिक्री गर्दैआएका छन् ।
चालु आवको पहिलो चौमासिकमा वीरगन्ज नाकाभएर १२ करोड ९३ लाख ६ हजार रुपैयाँ मूल्य बराबरको ४० लाख १० हजार ८ किलो प्याज भारतबाट नेपाल भित्रिएको वीरगन्ज भन्सारका सूचना अधिकारी संतोष यादवले बताए ।
यस क्रममा ६५ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । भारतीय बजारबाट दर्जनौ नाका भएर अहिले व्यापारी भारतीय प्याज तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् ।