चुनाबको मुखमा अस्थिर उपभोक्ता बजार, प्याज केही सस्तिदा आकाशियो गेलभेडा




काठमाडौं । केही दिनअघिसम्म असाध्यै बढेको प्याजको मूल्यमा केही कमी आउन नपाउँदै फेरि गोलभेडाको मूल्य आकाशिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको तथ्याङक अनुसार ११ प्रतिशतले प्याजको मूल्य घटेको छ भने ११ प्रतिशतले नै गोलभेडाको मूल्य बढेको छ ।

केही दिनअघि प्याजको मूल्य कालिमाटीमा ९९ रुपैयाँ प्रतिकेजी पुगेको थियो । आजको दिनमा प्याजको मूल्य प्रतिकेजी ८८ रुपैयाँ छ ।

गोलभेडा केही दिनअघि ८८ रुपैयाँ प्रतिकेजी कालिमाटीमै विक्री भैरहेकोमा अहिले बढेर ९८ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

कालिमाटीमा यसरी तरकारीको मूल्य बढ्दा पछिल्लो समय खुद्रा पसल तथा तरकारी बजारमा गोलभेडाको मूल्य प्रतिकेजी १ सय १० देखि १ सय ४० रुपैयाँसम्म पुगेको छ ।

प्याजको मूल्य भने अहिले बजारमा प्रतिकेजी १ सय रुपैयाँमा नै विक्री भैरहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका उप निर्देशक तथा सूचना अधिकृत विनय श्रेष्ठले चुनावले गर्दा १÷२ दिन तरकारीको मूल्यमा उतार चढाव आउने बताए ।

‘यो मौसममा तराइबाट तरकारी आउनु पर्ने हो, तर, तराइमा केही समयअघि वाढी पहिरो आएकोले रोपाइ ढिलो सुरु भएका कारण अहिलेसम्म तराइबाट तरकारी आउन सकेको छैन, यसैकारण केही तरकारीको मूल्य बढेको हो,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार चुनावमा किसानहरु आफ्नो गाउँ जाने भएकाले बजारमा यस्तो उतार चढाव आएको हुन सक्छ ।

यस्तै चुनाबका कारण भोलि कालिमाटी बजारको कारोबार बन्द हुने भएकोले व्यापारीहरुले आजै भोलिसम्मका लागि तरकारी खरिद गर्ने हुँदा भोलि तरकारीको मूल्य झन चुलिने अनुमान गरिएको छ ।

सुचना अधिकृत श्रेष्ठ भन्छन् ‘अब तरकारीको मूल्य चुनावपछि मात्र स्थीर रहने देखिन्छ, नभए पनि चुनाबको दिनसम्म यस्तो हुने देखियो ।’

यस्तै बजारमा गोलभेडाको मूल्य मात्र बढेको छैन । पछिल्लो समय कालिमाटी बजारमा बोडि, मटरकोशा, परवल, लौका, भिण्डी, बकूला, खुर्सानी, भेडे खुर्सानी र हरियो लसुन जस्ता अधिकांश तरकारीको मूल्य बढेको छ ।

मटरकोशा प्रतिकेजी ८८ रुपैयाँबाट बढेर १ सय १५ रुपैयाँ पुगिसकेको छ । परवल ५८ रुपैयाँ प्रतिकेजीबाट बढेर ९३ रुपैयाँमा पुगेको छ ।

केही दिनअघि बोडी र लौका प्रतिकेजी ३८ रुपैयाँमा विक्री हुन्थ्यो भने आज कालिमाटी बजारमा दुबैको मूल्य प्रतिकेजी ४२ रुपैयाँ पुगेको छ ।

कालिमाटी बजारमा भिण्डी ७८ रुपैयाँ प्रतिकेजीबाट बढेर ९८ रुपैयाँमा पुगेको छ ।

बकुला ८५ रुपैयाँ प्रतिकेजीबाट बढेर ९५ रुपैयाँमा पुगेको छ । यस्तै हरियो खुर्सानी ७८ रुपैयाँ प्रतिकेजीमा विक्री हुने गथ्र्यो भने अहिले ९२ रुपैयाँ पुगेको छ । भेडे खुर्सानी ८८ रुपैयाँ प्रतिकेजीबाट बढेर ९८ रुपैयाँ प्रतिकेजीमा विक्री हुँदैछ ।

हरियो लसुन प्रतिकेजी १ सय १५ रुपैयाँबाट बढेर १ सय ५५ रुपैयाँ प्रतिकेजी पुगेको कालिमाटी बजारले जनाएको छ । यो सबै तरकारीको थोक मूल्य हो । उपभोक्ताले योभन्दा महंगो मूल्यमा तरकारी खरिद गरिरहनु परेको छ ।


क्लिकमान्डु