राम्रो कमाइगर्ने किबी फलको उत्पादन घटेपछि किसन चिन्तित



इलाम । जिल्लामै पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गरेका सुलुबुङ-५ का तारामणि खतिवडा आजभोलि किबी फल बिक्री गर्न व्यस्त छन् ।

अहिले फल टिपाइ शुरू भएको छ । बिक्रीका लागि बजारसम्म पुर्याउनु पर्ने भएकाले उनलाई अन्य काम भ्याउनै मुस्किल छ । उत्पादनको शुरूमै प्रतिकिलो ३०० देखि ४०० रुपैयाँमा किनबेच हुन थालेको किबी फल संकलनको तयारीमा लागेका खतिवडाले यसपालि विराटनगर, काठमाडौँ, पोखरा लगेर बिक्री गर्ने तयारी गरेका छन् ।

किबी फल प्रतिकिलो ए ग्रेडको ४०० र बी ग्रेडको ३०० रुपैयाँमा बिक्री हुन थालेको छ । जिल्लाको सुलुबुङ, साँखेजुङ, लुम्दे, साङरुम्वा, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिकाको मावु, माईमझुवा र जमुना तथा इलाम नगरपालिकाको सुम्वेक र आमचोकमा यसको व्यावसायिक खेती गरिँदै आएको छ ।

यसपटक फल लागेको बेलामा असिनापानी परेका कारण उत्पादन घटेको खतिवडाले बताए । गत वर्ष ८ हजार किलो किबी फल उत्पादन गरेका खतिवडाले यसपटक त्यसको आधामात्र उत्पादन भएको बताए ।

अलैँचीखेती मासेर १६ रोपनी बारीमा किबी फल लगाएका साँखेजुङका टेकबहादुर विष्टले यस वर्ष १० क्विन्टल उत्पादन भएको बताए । गत वर्ष ४ लाख रुपैयाँ बराबरको किबी बिक्री गरेका उनले यसपटक ३ लाखको बिक्री गर्ने लक्ष्य राखेका छन् ।

किबी फस्टाएपछि व्यावसायिक चिया र गाईपालन गर्दै आउएका विष्टलाई नयाँ खेतीप्रति मोह बढ्दै गएको छ । किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत बनाएका छन् । फलभन्दा पनि बिरुवा बढी मूल्यमा बिक्री हुने गरेको उनले बताए । एउटा बिरुवा ३०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

गत वर्ष ४ क्विन्टल किबी फल बिक्री गरेका आमचोकका टठबहादुर पाण्डेले पनि यसपालि उत्पादन घटेको बताउँछन् । यसपटक उनले करिब एक मन मात्र बिक्री गरेको बताए । किबी फल उत्पादनमा जिल्लाका करिब २४ हजार घरपरिवार संलग्न छन् । एउटै बोटबाट कम्तीमा २०० देखि २५० किलो किबी फल्ने गरेको कृषक बताउँछन् । रासस


क्लिकमान्डु