दूरसंचार प्राधिकरणका अध्यक्ष झाको सपथ ग्रहण आज, १३ महिना काम गर्न पाउने



Digambar Jhaकाठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा पुन नियुक्ति गरेको दिगम्बर झालाई सरकारले आज (मंगलबार) सपथ खुवाउने भएको छ ।

मंसिर १८ सोमबार अर्थात् आजदेखि कार्यकाल सकिएका झालाई मन्त्रिपरिषदको कात्तिक २७ गतेको निर्णयअनुसार सूचना तथा संचार मन्त्रालयले पुन नियुक्ति गरेर सपथ खुवाउने तयारी गरेको हो ।

प्राधिकरणका अध्यक्ष झालाई मंगलवार मन्त्रालयमा सपथ ग्रहण गराउने तयारी गरेको जानकारी मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले दिए ।

‘उहाँको पुनः नियुक्तिको चिठ्ठी तयार छ, आज पत्र दिएर सपथ ग्रहण गराउँछौं,’ सचिव अधिकारीले क्लिकमाण्डूसँग भने ।

सचिव अधिकारीकाअनुसार उनलाई मन्त्रिपरिषदको निर्णयानुसार मंसिर १९ गतेदेखि लागू हुने गरि अधिकतम उमेर हद ६५ वर्ष ननाध्ने गरी अधिकतम ५ वर्षसम्मको लागि पुन नियुक्ति गरिएको छ ।

‘उहाँको भनाई त ५ वर्षकै लागि हुनुपर्छ भन्ने हो, तर क्याबिनेटले जे डिसिजन गरेको छ, त्यहि अनुसार नै हामीले चिठ्ठी दिने हो,’ सचिव अधिकारीले भने ।

यसअघि कात्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्ष पदमा झालाई पुन नियुक्तिको लागि अधिकतम ६५ वर्ष ननाध्ने गरी बढीमा ५ वर्षको लागि पुनः नियुक्तिको निर्णय गरेको थियो ।

मन्त्रालयकाअनुसार हाल सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत उपत्यका बाहिर रहेको र भोली आउने हुँदा मन्त्रीले अध्यक्ष झालाई सथप खुवाउने छन् ।

उता प्राधिकरण अध्यक्षमा पुन नियुक्ति पाएका झाले पहिलो कार्यकालको अन्तिम दिन आज कार्यालय गएर सामान्यरुपमा काम गरेको जानकारी दिए ।

‘आज सामान्यरुपमा अफिस गएर काम गरेँ, सचिव ज्यूसँग कुराकानी भयो, भोली नै चिठ्ठी (पुन नियुक्तिको) लिने र सथप ग्रहण गर्ने हो,’ अध्यक्ष झाले क्लिकमाण्डूसँग भने ।

उनकाअनुसार सूचना तथा संचार मन्त्रीको उपस्थितिमा अध्यक्षको सथप ग्रहण लिने छन् ।

‘एनटिए स्वायत्त संस्था हो । र, मन्त्री ज्यूसँगै सथप ग्रहण लिने हो,’ अध्यक्ष झाले भने ।

अध्यक्षमा पुन नियुक्ति पाएका झालाई अधिकतम ६५ वर्षसम्मको उमेर हदअनुसार पुनः नियुक्तिको चिठ्ठी दिईएको हुँदा उनले प्राधिकरणमा करिब डेढ वर्षसम्म मात्र काम गर्न पाउने छन् ।

उनको उमेर हाल ६३ वर्ष भईसकेको हुँदा उनले अब करिब १ वर्ष १ महिनासम्म मात्र प्राधिकरणमा अध्यक्षको रुपमा काम गर्न पाउनेछन् । प्राधिकरण स्रोतकाअनुसार उनको नागरिकतामा जन्ममिति सन् १९५४ जनवरी ६ तारिख रहेको छ ।


पुष्प दुलाल