विमान सञ्चालक कम्पनीले २ बर्ष नयाँ जहाज थप्न नपाउने



काठमाडौं । देशभर रहेका ५६ विमानस्थलको पार्किङ क्षमता ४६ वटा विमानमात्रै रहेको छ । नागरिक उड्डयन प्राधिकरणको एक छानविन समितिले दिएको सुझाव अनुसार संचालनमा रहेका ३२ विमानस्थलमा ४६ वटा मात्रै पार्किङ वे रहेकोले नयाँ जहाज थप्न प्रतिवन्ध लगाउनु पर्ने सुझाव दिएको छ ।

हाल एक दर्जन एयरलाइन्स कम्पनीसंग ४६ वटा विमान रहेका छन् । विमानसंख्या र पार्किङ क्षमता बराबर रहेकोले क्षमता विस्तार नभएसम्म जहाज थप गर्न नहुने सुझाव समितिले दिएको छ ।

प्राधिकरणले ६ महिना अगाडी प्रेम नाथ ठाकुरको संयोजकत्वमा अध्ययन गर्न ३ सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । समितिले नेपाल भरका विमानस्थले ४६ वटा विमान मात्र पार्किङ गर्न सक्ने क्षमता भएकोले क्षमता विस्तार नभएसम्म नयाँ जहाज थप गर्न नहुने निष्कर्ष सहितको प्रतिवेदन गत साता प्राधिकरण नेर्तृत्वलाई बुझाएको छ । हाल देशभर ५६ वटा आन्तरिक विमानस्थलहरु रहेका छन् । जसमा ३२ वटा विमानस्थल संचालनमा रहेको छन् । भने २३ वटा विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएको छ ।

दुई वर्ष जहाज थप गर्न प्रतिवन्ध लगाउने
हवाई क्षेत्रको नियमक निकाय नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान भर्ने एयरलाइन्सहरुलाई २ वर्ष जहाज थप्न प्रतिवन्ध लगाउने भएको छ । नयाँ जहाजका लागि पार्किङ वे ले नधान्ने भएपछि आन्तरिक तर्फका कुनै पनि एयरलाइन्सलाई नयाँ जहाज ल्याउन कम्तीमा दुई वर्ष प्रतिवन्ध लगाउने तयारी प्राधिकरणले गरेको हो ।

देशभरका विमास्थलको जहाज पार्किङ क्षमता ४६ मात्रै रहेको र हाल आन्तरिक उडान भर्ने एयरलाइन्स कम्पनीसंग पनि ४६ वटा जहाज पुगेपछि नयाँ जहाज थप गर्न प्रतिवन्धको तयारी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको र काठमाडौं बाहिर रहेका विमानस्थलको पार्किङ वे विस्तार नभएकोले नयाँ जहाज थप गर्न र नयाँ एयरलाइन्स थप्नको लागि प्रतिवन्ध लगाउने तयारी प्राधिकरणले गरेको हो ।

काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकको लागि १७ वटा मात्रै पार्किङ वे रहेको छ । तर पनि जवरजस्त रुपमा ३५ वटा सम्म पार्किङमा राख्दै आएको छ । केही एयरलाइन्सले काठमाडौं बाहिर पार्किङ गर्ने गरी अनुमति लिएपनि काठमाडौंमा राखेको प्राधिकरण स्रोतको भनाई छ ।

दुई वर्ष भित्र विराटननगर, जनकपुर, धनगढी, नेपालगन्ज, लुक्ला, सिमरा लगायत विमानस्थलमा समेत पार्किङ वे विस्तारको तयारी प्राधिकरणले गरेको छ । प्रतिवेदन हाल प्राधिकरणका उच्च तहले अध्ययन गरिरहेको छ ।

“विमान थप्न दिनु भनेको एयरलाइन्स र यात्रुलाई थप सास्ती दिनु हो,” प्राधिकरणका एक उच्च अधिकारीले भने । सवै तर्फको अध्ययन गर्दा हाल नेपालमा ४६ वटा विमान रहेको र सोही आधारमा अव कुनै पनि एयरलाइन्सलाई थप जहाज ल्याउन दिन नसक्ने अवस्थामा पुगेको छ ।

विमानस्थलमा पार्किङ गर्ने स्थान नहुदाँ अहिले पनि ४५ मिनेट देखि १ घन्टा सम्म आकासमै जहाज होल्ड गनर््ुपर्ने अवस्था छ । अर्को तर्फ हवाई सुरक्षामा चुनौति समेत थपिएको समितिको निष्कर्ष रहेको छ ।

हाल नेपालमा ठूला जहाज थप्ने होड चलेको वेला प्राधिकरणले चाल्ने कदमबाट एयरलाइन्स कम्पनीहरु कम्तीमा दुई वर्ष खुम्चने अवस्था आउने भएको छ । प्राधिकरणका अनुसार यसैवषै त्रिभुवन विमानस्थलमा नयाँ हेलिप्याड बनाउने गरी बजेट विनियोजन गरेको छ । साथै केही दिन अगाडी मात्रै पारित भएको प्राधिकरणको बजेटमा पार्किङ वे निर्माणको लागि बजेट छुट्याएकोले आन्तरिक स्रोतबाटै धमाधम पार्किङ वे निर्माण गर्ने तयारी प्राधिकरणले गरेको छ ।

त्रिभुवन विमानस्थलमा हाल ४ सय वटा आन्तरिक तर्फका उडान/अवतरण हुने गरेको छ । भने अन्तर्राष्ट्रिय तर्फ ८० वटा उडान÷अवतरण हुने गरेको छ ।


क्लिकमान्डु