आजदेखि काठमाडौं महानगरको कार्यालयमा निःशुल्क वाइफाइ




काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क वाइफाइ सेवा संचालनमा ल्याएको छ । महानगरपालिकाले सिटीहल (राष्ट्रिय सभागृह) मा बुधबारदेखि निःशुल्क वाईफाई सेवा सुरु गरेको हो ।

काठमाडौं महानगरपालिका कार्याकारी प्रमुख धनीराम शर्माले सिटीहलमा निःशुल्क वाइफाइ सेवा सुरु गरिएको जानकारी दिए ।

‘आजदेखि सिटीहलमा निःशुल्क वाइफाई सेवा संचालनमा आएको छ, छिटै सहरका अन्य स्थानमा पनि सेवा विस्तार गर्दै लगिने छ,’ शर्माले क्लिकमाण्डूसँग भने ।

कार्यालय आउने सेवाग्राहीलाई सेवा दिने उद्देश्यले सिटी हल क्षेत्रलाई फ्रि वाइफाई बनाइएको महानगरका सूचना प्रविधि महाशाखा प्रमुख धुव्र काफ्ले बताउँछन् ।

महानगरको सिटीहलमा पहिलेदेखि वाइफाइ सेवा संचालनमा थियो । तर, वाइफाइ प्रयोगका लागि पासवर्ड चाहिन्थ्यो । आजदेखि महानगरका सेवाग्राहिले बिना पासवर्ड निःशुल्क वाइफाइ प्रयोग गर्न सक्ने काफ्ले बताउँछन् ।

महानगरले विगत २ बर्षदेखि रत्नपार्क क्षेत्रमा पनि निःशुल्क वाईफाई सेवा दिदै आएको छ ।

महानगरले सहरका अन्य क्षेत्रमा पनि फ्रि वाईफाई सेवा विस्तार गर्ने जनाएको छ ।

‘पहिलो चरणमा सेवाग्राहिको सुविधाको लागि सिटीहललाई निःशुल्क वाइफाइ क्षेत्र बनाइएको हो, अन्य स्थानमा पनि सेवा विस्तारका लागि प्राविधिक कार्य भईरहेको छ,’ काफ्लेले भने ।


पुष्प दुलाल