दूधको अभावमा चिज उद्योग बन्द हुने अवस्थामा



फाइल

इलाम ।  चिजको माग बढ्दै गए पनि दूधको अभावमा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएपछि सरकारी उद्योगलाई दूधको अभाव हुन थालेको छ ।

लामो समयदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)मा दूध बिक्री गर्दै आएका किसानले निजी डेरीले बढी मूल्य दिन थालेपछि डिडिसीसँगको सम्बन्ध तोड्न थालेका छन् । मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगर चिज उद्योगलाई दूधको अभाव हुन थालेको हो ।

निजी उद्योगले प्रति लिटर ४५ रुपैयाँदेखि ६० रुपैयाँसम्म दूध दिने गरेको छ । दुग्ध विकास संस्थानले किसानलाई दूधको गुणस्तर हेरेर प्रति लिटर ४० रुपैयाँमा दिँदै आएको छ । दूध संकलन गर्ने सहकारीलाई कमिसनबापत अतिरिक्त तीन रुपैयाँ दिने गरेको दुग्ध विकास संस्थान विराटनगर आयोजना प्रमुख सरोज सिंखडाले जानकारी दिए ।

विसं २०४२ मा स्थापना भएको सो उद्योगको प्रशोधन क्षमता तीन हजार लिटर भए पनि हाल ५०० लिटर मात्र प्रशोधन गर्ने गरेको छ । एक वर्ष अघिसम्म चारवटा सहकारीमार्फत आएको दूध प्रशोधन गर्ने उद्योगमा अहिले एउटामात्र सहकारीले दूध बिक्री गर्दै आएको कर्मचारी देव चौधरीले बताए।

स्थानीयस्तरमा दैनिक १२० लिटर मात्र दूध संकलन भएपछि पशुपतिनगर चिज उद्योगले करिब १० किलोमिटर टाढा फिक्कलमा रहेको चिस्यान केन्द्रबाट ४०० लिटर दूध खरिद गर्ने गरेको छ । इलाममा दैनिक एक लाख २० हजार लिटर दूध उत्पादन हुने गरेको छ ।


क्लिकमान्डु