ओलीको निर्वाचन क्षेत्र पुगेर देउवाले भने- कम्युनिष्ट अधिनायकबाद स्वीकार्य छैन



दमक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने विचार व्यक्त गरे ।

झापाको गौरादहमा आज काँग्रेस क्षेत्रीय समितिले स्थानीय गौरादह बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्तास्वार्थ र लोकतन्त्र र संविधान समाप्त गर्ने उद्देश्यले वाम गठबन्धन गरेर मुलुकलाई विभाजनतर्फ उन्मुख गराएको आरोप लगाए ।

उनले लोकतन्त्रविना मुलकले समृद्धि नपाउने भएकाले जनताले लोकतन्त्रका पक्षधरलाई जिताउने विश्वास व्यक्त गर्दै भने ‘वाम गठबन्धन अप्राकृतिक छ, यसले देशलाई थप अस्थिरतातर्फ धकेल्नेछ ।’

नेता देउवाले झापाली जनतालाई लोकतन्त्रका पक्षमा अभिमत दिन आह्वानसमेत गरे । सो सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनलाई अनिष्टको संज्ञा दिँदै त्यसको औचित्य नभएको टिप्पणी गरे ।

नेता पौडेलले नेपाली जनतालाई झुक्याएर साम्यवादको सपना नदेख्न चेतावनी दिँदै भने ‘जनता अधिनायकवाद रोज्दैनन्, यसलाई चुनावमार्फत जनताले परास्त गर्छन् ।’

सभामा काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, काँग्रेसबाट झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा खगेन्द्रपाण्डव अधिकारी, प्रदेशसभाका उम्मेदवारद्वय अनिलकृष्ण प्रसार्इं र राजनकुमार ढुंगाना, काँग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय सदस्य पदम पौडेल, काँग्रेस गौरादह नगर सभापति यादवराज सेढाईं, महासमिति सदस्य फूलवती राजवंशी, नेता सुरेश सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, राप्रपाका केन्द्रीय सदस्य दिलीप राई, भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारतेन्दु मल्लिकलगायतले लोकतन्त्र र मुलुकको समृद्धिका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए ।

सो अवसरमा गौरादह नगरप्रमुख रोहित शाहले गौरादहको पर्यटकीयस्थलका रुपमा परिचित माछापोखरीको विकासका निम्ति सरकारबाट सहयोगका लागि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै भुटानी शरणार्थीका अग्रज डा भम्पा राईसहितको प्रतिनिधिमण्डलले भुटानी शरणार्थीको स्वदेश फिर्तीमा सहयोग पु¥याइदिन मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । रासस


पुष्प दुलाल