कम्युनिष्टले जिते देशमा फेरि चुनाव हुँदैन, निर्धक्क हिँडडुल गर्नसमेत पाइँदैनः देउवा



तेह्रथुम । प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने स्थिति देखा परेकोले लोकतान्त्रिक संविधान र शासन पद्धतिलाई जोगाउन नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताएका छन् ।

तेह्रथुमको म्याङलुङ्गमा सोमबार आयोजित नेपाली कांग्रेसको चुनावी सभालाईसम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताए ।

‘यो चुनाव संसदीय व्यवस्था सहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन भन्ने जनमत संग्रह हो,’ प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेसले हारे लोकतन्त्रले हार्छ र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउनेछ ।’

लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्ने तर कम्युनिष्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्र रुपमा हिडडुल समेत गर्न नपाउने प्रधानमन्त्रीको भनाई थियो ।

उनले बाम–गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिष्ट शासन लागु गर्ने योजना सार्वजनिक गरिसकेको आरोप लगाए ।

‘नेपाली कांग्रेस बाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन,’ प्रधानमन्त्री देउवाले भने ‘नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ , त्यसैले यो चुनाव जित्न आवश्यक छ ।’

उनले कांग्रेसले जनतालाई मालिक मानेर सार्वभौमसत्ता सम्पन्न बनाएको तर कम्युनिष्टहरुले जनतालाई सधै डर त्रासमा राखेर शासन गर्न खोजेको आरोप लगाए ।

कांग्रेसले २००७ सालदेखि नै जनताको हक अधिकार रक्षा गर्दै जनतालाई सर्वशक्तिशाली मानेर आएको पार्टी भन्दै कम्युनिष्टले राजा महेन्द्रको तानाशाही व्यवस्थालाई व्युँताउन खोजेको आरोप लगाए ।

प्रधानमन्त्री देउवाले जुझारु, क्रियाशील र जनजाति महिला नेतृ सीता गुरुङलाई जिताएर जिल्लाको विकास र समृद्धिलाई अगाडि बढाउन आग्रह गरे ।

सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बाम–गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधै हिसांको बाटोतर्फ अग्रसर रहने अरोप लगाए ।

‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, बामपन्थीले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन’, वरिष्ठ नेता पौडेलले भने ।

कार्यक्रममा बोल्दै भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री एवम् तेह्रथुमबाट प्रतिनिधि सभाकी उम्मेदवार सीता गुरुङले अढाई दशकसम्म जिल्लाको ताला चाबी बामपन्थीको हातमा परेकाले विकास निर्माणमा पछि परेको बताइन् ।

उनले जिल्लाको विकास र समृद्धि नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै आफुले समानुपातिकबाट सांसद हुँदा प्रत्यक्ष निर्वाचित भन्दा बढी काम गरेर देखाएको बताइन् ।

कार्यक्रममा नेपाली कांंग्रेसका महासमिति सदस्य तुलसी सुब्बा, पुर्वसांसद गणेश विमली, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फे लगायतले मन्तव्य राखे । आमसभा कांग्रेस तेह्रथुमका सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाको अध्यक्षता सम्पन्न भएको थियो ।


पुष्प दुलाल