घुस्याहा प्रहरीलाई अख्तियारले समात्यो



काठमाडौं । शशस्त्र प्रहरीका जवान शम्भुप्रसाद आचार्यलाई घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । नेपालगञ्जको औद्योगिक सुरक्षा गणमा कार्यरत सशस्त्र आचार्यले नियन्त्रणमा लिएको सामान घुस लिएर फिर्ता गरेपछि अख्तियारले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको टोली पुगेको थियो । अख्तियारको टोली पुग्दा आचार्यले सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिइसकेका थिए । घुस लिइसकेका निजलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

आचार्य विरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम ७ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफा र उपदफाको देहाय (क) बमोजिम जरिवाना र कैद सजायको माग गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।


पुष्प दुलाल