झापा-५ मा ‘सेफ जोन’मै छन् त एमाले अध्यक्ष ओली ?



भद्रपुर । संविधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ चर्चित छ ।

यस क्षेत्रमा प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ‘क’ मा १२ र ‘ख’ मा नौ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभाका लागि नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका तर्फबाट खगेन्द्र अधिकारी र प्रदेशसभामा ‘क’ बाट अनिलकुमार प्रसाईं र ‘ख’बाट राजनबहादुर ढुंगानाले उम्मेदवारी दिएका छन् ।

लखनपुनदेखि गौरादहको मार्ग उच्चस्तरको कालोपत्र हुनु, लखनपुरमा पूर्वाञ्चलस्तरीय आयुर्वेद अस्पताल निर्माणका लागि पूर्वाधार शुरु हुनु, दमकमा फन पार्क बन्ने तयारी हुनाका साथै खेलकुदका लागि ठूलो रंगशाला निर्माण हुने र कृषि कलेज र ग्रामीण हुलाकी मार्गसँग जोडिएको गौरीगञ्ज नमूना सहर बन्ने सरकारी निर्णयले यस क्षेत्रका जनता सन्तुष्ट छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारीमा निकै पहुँच रहेको सो क्षेत्रमा सिँचाइको व्यवस्था भए कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन मद्दत पुग्ने साना किसान कृषि सहकारी संस्था महारानी झोडामा आबद्ध किसान बताउँछन् ।

स्थिर सरकारले मात्र मुलुकलाई समृद्ध बनाउने र सञ्चालित विकासका पूर्वाधार एवं योजनालाई कार्यान्वयनमा ल्याउन वाम गठबन्धनले बहुमत हासिल गर्नुपर्नेमा दमक निवासी होमबहादुर थापा जोड दिन्छन् ।

दक्षिणी भेगका जनताले रतुवा, किस्ने, गौरिया, बनियानी, कन्काई, कमलाजस्ता नदीबाट वर्षेनी कटान र डुबानबाट त्राण पाउन चाहेको तथा हुलाकी मार्ग छिट्टै बनोस् भन्ने चाहना राखेकाले अब बन्ने सरकारले जनताको आवश्यकता र समस्या समाधानमा केन्द्रित भएर काम गर्नुपर्ने प्रस्ताव यहाँ आएका उम्मेदवारसँग राख्दै आएको साविक महाभरा गाविस अध्यक्ष एवं काँग्रेसका पूर्वमहासमिति सदस्य विजय अग्रवाल स्पष्ट पार्छन् ।

एमाले अध्यक्ष ओलीले आफ्नो उम्मेदवारीपछि ३ पटक झापा आएर निर्वाचन क्षेत्र नं १ का वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेन्द्रकुमार कार्की र प्रदेशसभाका उम्मेदवार श्रीप्रसाद मैनाली खका गोपालचन्द्र बुढाथोकी, निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पवित्रा निरौला (खरेल) र प्रदेशसभा ‘क’ का एकराज कार्की र ‘ख’ का वृखबहादुर प्रधान, निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र लिङ्देन तथा प्रदेशसभा ‘क’ का वसन्त बानियाँ र ‘ख’ का पूर्णसिंह राजवंशी, निर्वाचन क्षेन नं ४ का प्रतिनिधिसभा उम्मेदवार लालप्रसाद साँवा र प्रदेशसभा ‘क’ का झलकबहादुर मगर र खका हीराबहादुर थापा तथा निर्वाचन क्षेत्र नं ५मा आफ्नै लागि र प्रदेशसभाका ‘क’ का हिक्मतकुमार कार्की र ‘ख’ का अर्जुन राईका लागि आयोजित चुनावी सभालाई सम्बोधन गरिसकेका छन् ।

वाम गठबन्धनका तर्फबाट झापामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीसहित अन्य नेताको चुनावी सभाले वामगठबन्धनका कार्यकर्ता एवं समर्थक निकै हौसिएका छन् ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट अहिलेसम्म नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबाहेक अन्य नेताको आवागमन भएको छैन ।

गौरीगञ्ज गाउँपालिका वडा नं ३–६, गौरादह नगरपालिका वडा नं १– ८, दमक नगरापालिका र कमल गाउँपालिका मिश्रित यस क्षेत्रमा कूल एक लाख ३७ हजार ५६५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस


पुष्प दुलाल