१८ वटा हाइड्रोपावरसहित ३३ उद्योगले संचालनको म्याद थप गरे (सूचीसहित)



काठमाडौं। सरकारले म्याद थप गर्ने अनुमति दिएका उद्योगहरुमध्ये अधिकांश जलविद्युत कम्पनीहरुले उद्योग संचालनको म्याद थप गरेका छन् । उद्योग विभागकाअनुसार सरकारले गएको असोज महिनादेखि ३० गतेदेखि ३ महिनाभित्र म्याद समाप्त भएका उद्योगहरुलाई म्याद थपको अनुमति दिने प्रावधान ल्याएको छ ।

सोहि म्याद थपको प्रावधानअनुसार हालसम्म विभागमा ३३ वटा कम्पनीहरुले म्याद थप गराएको विभागका प्रवक्ता तथा निर्देशक दुर्गा प्रसाद भुषालले जानकारी दिए ।

‘सरकारले एक पटकका लागि म्याद थप गर्ने निर्णय गरेको आधारमा सूचना प्रकाशित गरेर नै म्याद थपको आवेदन माग गरेका थियौं र सोहि आधारमा म्याद थप गर्नेको संख्या बढिरहेको छ,’ प्रवक्ता भुषालले क्लिकमाण्डूसँग भने ।

असोज ३० गतेदेखि म्याद थप गर्ने अधिकांश कम्पनीहरुमा जलविद्युत क्षेत्रका रहेका छन् । विभागको तथ्यांकअनुसार हालसम्म ३३ वटा कम्पनीहरुले उद्योग संचालनको म्याद थप गरेकोमा १८ वटा कम्पनीहरु जलविद्युत क्षेत्रसँग सम्बन्धित रहेका छन् ।

‘हाइड्रोपावर कम्पनीको काम लामो समयसम्म हुने र छिटै प्रकृया अगाडि नबढ्ने हुँदा ती कम्पनीहरुले म्याद थप गराएका हुनसक्ने प्रवक्ता भुषालको भनाई छ ।

म्याद थप गराउने जलविद्युत कम्पनीहरुमा बज्र इनर्जी भेञ्चर्स प्रालि, चिरख्वा हाइड्रोपावर प्रालि मूल उद्योग, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, सिन्धुज्वाला हाइड्रोपावर लिमिटेड, चिरख्वा हाइड्रोपावर प्रालि शाखा उद्योग, इनर्जी इन्जिनियरिङ लिमिटेड, बेत्रावती हाइड्रो इलेक्ट्रिक हाइड्रोपावर कम्पनी प्रालि, मिडिल मोदी हाइड्रोपावर लिमिटेड, सुरीखोला हाइड्रोपावर प्रालि, ताङ्गछर हाइड्रो प्रालि, हाइड्रो इम्पाएर प्रालि, अपर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालि, सालासुङ्गी पावर लिमिटेड, नुम्बुर हिमालय हाइड्रोपावर प्रालि, पान हिमालय इनर्जी प्रालि, ग्लोबल हाइड्रोपावर एशोसिएट प्रालि, मकरीगाड हाइड्रोपावर प्रालि, सासा इन्जिनियरिङ हाइड्रोपावर प्रालि र नासा हाइड्रोपावर प्रालि रहेका छन् ।

विभागकाअनुसार मंसिर ८ गतेसम्मको अवधिमा अधिकांश कम्पनीहरुले १ वर्षको लागि म्याद थप गराएका छन भने केहि कम्पनीहरुले लामो अवधिसम्मका लागि म्याद थप गराएका छन् ।

म्याद थप गराउने कम्पनीमा पछिल्लो दिनमा चिनियाँ लगानीमा सिमेन्ट उद्योग संचालन गर्ने भनेर स्थापना भएको होङ्सी शिवम् सिमेन्ट प्रालि पनि रहेको छ । सो कम्पनीले थप १ वर्षको लागि म्याद थप गराएको छ ।

त्यसैगरी सिमेन्ट कम्पनीहरु मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रालिको म्याद १ वर्ष थप गरिएको छ भने सी.जी. सिमेन्ट इण्डष्ट्रिज पाल्पा प्रालिले २ वर्षको म्याद थप गराएको छ ।

विभागमा म्याद थप गराउने अन्य कम्पनीहरुमा कालिञ्चोक दर्शन लिमिटेड, बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालि, यूनिक टेण्ट भिल्लाज प्रालि, स्वयम्भूनाथ मेडिटेशन एण्ड हेल्थ रिसोर्ट प्रालि, अकामा होटल प्रालि, ओमस्टोन एसिया क्यापिटल नेपाल प्रालि, सूर्य प्रकाश कन्स्ट्रक्सन प्रालि, वेइजिङ सी ये हाउजिङ प्रालि, दिग्विजय पेन्ट्स इण्डस्ट्री प्रालि, मेगा इन्फ्रा सर्भिसेज प्रालि र द लिफ हस्पिटालिटी प्रालि रहेका छन् ।

विभागकाअनुसार उद्योग संचालनको म्याद थप गर्ने आवेदन मिति पुस ९ गतेसम्म रहेको हुँदा यो संख्या अझै बढ्न सक्दछ ।


क्लिकमान्डु