चितवनमा मंसिर २३ गतेदेखि सूचना प्रविधि सम्मेलन



चितवन । चितवनमा मंसिर २३ गतेदेखि सूचना प्रविधि सम्मेलन आयोजना हुने भएको छ । इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले आउँदो मंसिर २३ देखि २५ गते सम्म एनपिएनओजी–३ नामक तीन दिने कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान गरिने छ ।

सम्मेलनबाट सो क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने समस्या एवं चुनौतीहरुको बारेमा जानकारी हासिल गर्न सक्ने आयोजकले जनाएका छन्।

चितवनमा आयोजना हुने सो कार्यक्रममा पहिलो तीन दिन प्राविधिक विषयवस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ । भने, अन्तिम दिन सम्मेलन आयोजना गरिने छ ।

पहिलो दिन नेटवर्क एडमिस्ट्रेसन, दोश्रो दिन सिस्टम एडमिस्ट्रेसन र तेश्रो दिन आएपीभी सिक्सको विषयमा अन्तरकृया हुनेछ ।

कार्यशालामा एन्पिनोगका सदस्य विशेषज्ञहरुका साथै केहि अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ज्ञान तथा अनुभव बाड्ने छन् । कार्यक्रम स्नातक तहका अन्तिम वर्षमा अध्ययनरत् विधाथी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुनेछ । गोष्ठिमा सहभागी हुन चाहने विद्यार्थीहरुका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

कार्यक्रमको अन्तिम दिन साढे १२ बजेदेखी आयोजना हुने सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिनेछन् ।


पुष्प दुलाल