दाङबाट केपी ओलीको प्रश्नः कांग्रेसले हिंसा चाहेको हो ?



दाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वले हिंसाको बाटो समातेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई प्रशय दिनेगरी कांग्रेस लागिपरेको भन्दै हिंसाको बाटो नसमात्न आग्रह गरे ।

दोलखामा विप्लव माओवादी र कांग्रेसको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय गरेको आरोप लगाउँदै ओलीले कांग्रेस नेतृत्वलाई प्रश्न गरे, ‘आफ्नो ईतिहास समाप्त पार्ने गरी कांग्रेस अगाडि बढ्नु उसका लागि नै घाटा हुन्छ । हिजो दोलखामा दुवै पार्टीको बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय भएको कुरा समाचारमा आएको छ । यसले मलाई चिन्तित तुल्याएको छ । यसो गर्दा कांग्रेसको भविष्य अन्धकारमा पर्छ ।’

प्रहरी प्रमुखलाई किन हटाएको ?

पत्रकार सम्मेलनमा बोल्दै ओलीले पाँचनम्वर प्रदेशप्रमुख मिङमार लामालाई हटाउनुको कारणको खोजी गर्न जिल्लाबासीलाई आग्रह गरे ।

‘हतियारसहित समातिएका मान्छेलाई मुद्दा नचलाई छाड्न भनेर निर्देशन दिएर सरकारले कस्तो परिपाटीको थालनी गर्न खोजेको हो ? प्रहरी प्रमुखले हतियारसहित समातिएको मान्छेलाइृ छाड्न मिल्न ?’ उनले प्रश्न गरे ।

कानुनीराजको व्याख्या र विशलेषण गर्ने पार्टी कांग्रेसको नेतृत्वमा सरकार चलिरहँदा कानुन मिचेर प्रहरी प्रमुखलाई हटाउने निर्णय गरिनुले कांग्रेसले मुलुकलाई कता लैजान खोजेको छ कुरा प्रष्ट भएको ओलीले बताए ।

मुलुकमा राजनीतिक स्यायित्व दिन बाम गठबन्धन गरिएको ओलीको भनाई थियो । पहिले सरकार कि पार्टी एकता भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष ओलीले भने ‘पार्टी एकताका आधारहरु तयार भइसकेका छन् । औपचारिक घोषणा हुन मात्रै बाँकी छ । कतै पार्टी एकता हुँदैन कि भनेर नतर्सिनुहोस् । निर्वाचनपछि पहिले सरकार अनि पार्टी एकता हुन्छ ।’


पुष्प दुलाल