अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने गिरोह राजधानीमा सक्रिय



काठमाडौं । प्रविधिको प्रयोग गरेर ठगी गर्ने गिरोह राजधानीमा व्याप्त रहेको पाइएको छ । पछिल्लो पटक अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने दुई र सो बनाउन सहयोग गर्ने छजना गरी आठ जनालाई प्रहरीले पक्राउ गरे पछि सो कुराको खुलासा भएको हो ।

उनीहरुले कम्प्युटरबाट नक्कली कागजात बनाएर अमेरिका पठाउन सहयोग गर्ने गरेको र सो वापत प्रतिव्यक्ति ५ लाखसम्म लिने गरेको पाइएको हो ।

महानगरीय अपराध महाशाखाकाअनुसार पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का भुवानीप्रसाद भट्टराई, सत्यविनायक कम्युनिकेशनका सञ्चालक कालीकोटको तिलागुफा–६ का विशालजंग शाही, कालीकोटको तिलागुफा–५ का सुरेशबहादुर शाही, सुनसरी, धरान नगरपालिका–११ का अभय पोखरेल, स्क्युर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौँ–४ चण्डोलका अनिल श्रेष्ठ, काभ्रेपलाञ्चोकको महाभारत–१ का देवराज तामाङ र काठमाडौँ मनमैंजु–२ का सन्तोषकुमार तिवारी रहेका छन् ।

पक्राउ परेकामध्ये मोक्तान र भट्टराईलाई डिभी परेको र अन्य छ जनाले नक्कली प्रमाणपत्र बनाउन भूमिका खेलेको प्रहरीको भनाइ छ ।

उनीहरुले नेपालस्थित दूतावासमा पेश गरेको प्रमाणपत्र शंकास्पद लागेपछि दूतावासले सो सम्बन्धी जानकारी प्रहरीलाई दिएको महाशाखाका प्रमुख दिवस लोहनीले बताए । दूतावासले दिएको सूचनाका आधारमा प्रहरीले छानबिन अघि बढाएको थियो ।

मोक्तानले नक्कली प्रमाणपत्र बनाउन रु तीन लाख ५० हजार र भट्टराईले रु ९० हजार तिरेको पाइएको छ । यस्तै कागजात हेरेर उनीहरुले ५ लाखसम्म लिने गरेको पाइएको छ ।

नगद रकम लिई सरकारी छाप दस्तखत कीर्ते गरी १० दुई जोड उत्तीर्णा गरेको प्रमाणपत्र, ‘माइग्रेसन’, ‘प्रोभिजनल’, ‘ट्रान्सकृप्ट’, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणपत्र लगायतका कागजपत्र नक्कली बनाएको अनुसन्धानका क्रममा खुल्न आएको छ । पक्राउ परेकालाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा कारवाही गरिनेछ ।


क्लिकमान्डु