मेगाको कारण रोकियो टुरिजमसँगको मर्जर, अब के होला ?




काठमाडौं । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जर तत्कालका लागि स्थगित भएको छ । मेगा बैंकको विशेष साधारणसभामा गणपुरक संख्या नपुगेपछि अब मर्जर हुन्छ कि हुदैन भन्ने प्रश्नसमेत उठेको छ ।

प्रमोटरको संख्या धेरै भएको र चुनाबको मुखैमा भएका कारण विशेष साधारणसभामा गणपुरक संख्या नपुगेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । गणपुरक संख्या पुगेको भए आजैको साधारणसभाले मर्जको स्वीकृति दिइसक्ने शाहको भनाइ छ ।

‘हाम्रो बैंकमा प्रमोटरको संख्या धेरै ठूलो छ, १३ सयभन्दा बढी प्रमोटर हुनुहुन्छ, चुनाबको मुखमा हुन लागेको बिशेष साधारणसभामा गणपुरक संख्या पुग्दैन कि भन्ने डर हामीलाई पनि थियो, हामीलाई जुन कुराको डर थियो, त्यही भयो, गणपुरक संख्या पुगेको भए आजैको साधारणसभाले मर्जरको प्रस्ताव पारित गथ्र्याे,’ शाहले क्लिकमाण्डूसँग भने ।

टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत महेश ढकाल आफ्नो बैंकको तर्फबाट कुनै समस्या नरहेको बताउँछन् ।

‘हाम्रो विशेष साधारणसभाले सर्बसम्मत रुपमा मेगासँग मर्ज हुने प्रस्ताव पारित गरेको छ, मेगाको साधारणसभा गणपुरक संख्या नपुगेका कारण रोकियो भन्ने सुनियो, मेगाले प्रक्रिया मिलाएर आउने वित्तिकै मर्जर कार्य अगाडि बढ्छ,’ प्रमुख कार्यकारी अधिकृत ढकालले क्लिकमाण्डूसँग भने ।

अब के हुन्छ ?
मेगा बैंकको ब्यवस्थापनले चुनाबको कारण सबै प्रमोटर उपस्थित हुन नसकेकोले मात्रै बिशेष साधारणसभा रोकिएको बताएको छ । यसको अर्थ मर्जर प्रक्रियाप्रति प्रमोटरको असहमति हो भन्ने लाग्दैन । ब्यवस्थापनको दाबी सही हो भने बैंक संचालक समितिले एक साताको सुचना दिएर अर्काे विषेश साधारणसभा बोलाउनु पर्नेछ ।

मेगा बैंकमा धेरै प्रमोटर भएका कारण ब्यवस्थापनले गरेको तर्क सान्दर्भिक देखिन्छ । तर, बैंक संचालक समितिका केही संचालकले विशेष साधारणसभा रोक्न लबिङ नै गरेको हल्ला पनि चलेको छ ।

मेगा संचालक समितिले ७ दिने सुचना दिएर पुन विशेष साधारणसभा बोलाउन सक्छ । यस्तो अबस्थामा अहिलेको जस्तो गरी गणपुरक संख्याको समस्या हुदैन । आफूले प्रमोटरहरुसँग कुरा गर्दा ७५ प्रतिशतभन्दा बढीले मर्जरको पक्षमा रहेको जानकारी गराएको प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

मेगासँगको मर्जरमा टुरिजमको सेयर स्वाप रेसियो प्रतिकित्ता ९५ रुपैयाँ हुने समझदारी पत्रमा हस्ताक्षर गर्दा नै निर्धारण गरिएको थियो । तर डिडिएले टुरिजमको स्वाप रेसियो करिब ९२ रुपैयाँ देखाएको छ । मेगाले विशेष साधारणसभाबाट ९५ रुपैयाँ स्वाप रेसियोमै मर्जर गर्न खोजिएको थियो । मेगाका केही संचालकले डिडिए अगाडि नै स्वाप रेसियो तोकिएको असहमति जनाएका छन् ।


क्लिकमान्डु