छोरो हेर्न अस्पताल पुगेका प्रचण्डलाई डाक्टरले मृत्युको खबर सुनाए



काठमाडौं । आइतबार एकाबिहानै प्रचण्डलाई खबर पुग्यो, छोरा प्रकाश दाहाललाई हृदयघात भएकाले बिाहन ५ बजे नै अस्पताल भर्ना गरियो भनेर । यस्तो खरब सुन्नासाथ चुनाब प्रचारका क्रममा झापामा रहेका प्रचण्डले हेलिकप्टर मगाए ।

बिहान साढे ११ बजेतिर प्रचण्ड काठमाडौं आइपुगे । पहिला लाजिम्पाटस्थित घरमा गए । त्यहाँबाट सपरिवार प्रकाशलाई हेर्न करिब १२ बजे नर्भिक अस्पताल पुगे । जब उनी छोरा भए ठाउँमा पुगे । प्रचण्डलाई डाक्टरहरुले प्रकाशको निधन भइसकेको खबर सुनाए ।

उपचारमा खटिएका डा. यादव भट्टले विहान ६ बजे नै प्रकाशको मृत्यु भएको हो । भट्टले प्रचण्डलाई यस्तै जानकारी गराए ।

डाक्टरले मृत्युको खबर सुनाइरहँदा प्रचण्ड गहभरी आँशु पार्दै गंभीर भए । त्यसै पनि भावुक प्रचण्ड पुत्रवियोगमा सम्हालिन गाह्रो भइरहेको थियो ।

प्रकाश प्रचण्डका पुत्रमात्रै थिएनन्, उनका स्वकिय सचिवसमेत थिए । अझ भनौं राजनीतिक सल्लाहकारको भूमिकामा थिए । प्रचण्डको राजनीतिक भेटघाटलगायतको व्यवस्थापन उनै प्रकाशले गर्थे । त्यसैले प्रचण्डले पुत्र मात्रै गुमाएनन, राजनीतिको आफ्नो राइट ह्याण्ड र एक विश्वासपात्र सहयोगी पनि गुमाए ।

त्यसो त बिहानैदेखि प्रकाशको निधन भएको खबर आमसञ्चार माध्यमहरुले दिइसकेका थिए । तर, अस्पतालले भने औपचारिकरुपमा प्रकाशको मृत्यु भएको भनेर भनेको थिएन ।

साँझ आमा सीता दाहाल र भाञ्जीहरुसँग सँगै खाना खाएर लाजिम्पाटस्थित आफ्नै कोठामा सुतेका प्रकाशलाई मध्यराती आकस्मिक हृदयघात भएको थियो । सँधै बिहान छिटो उठ्ने उनी आज अबेरसम्म पनि नउठेपछि आमा सीताले उठाउन खोज्दा प्रकाश अचेत अवस्थामा थिए । त्यसपछि उनलाई तत्कालै नर्भिक अस्पताल भर्ना गरिएको थियो ।


पुष्प दुलाल