निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न थप २ जनालाई बन्दुकसहित प्रहरीले पक्रियो



काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा संलग्न वसन्त थेवे र धनराज योङहाङलाई शुक्रबार कपनबाट प्रहरीले पक्राउ गरिएको घटनाको अनुसन्धान गर्न गठित छानबिन टोलीका प्रमुख रहेका प्रहरी नायब महानिरीक्षक गणेश केसीले जानकारी दिए ।

पक्राउ परेका साथबाट २ वटा पेस्तोल र १० राउण्ड गोलीसमेत बरामद भएको उनले बताए । प्रहरीले यसअघि गत मंगलबार घटनामा संलग्न ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङताङ, पर्सा, कालिकामाई गाउँपालिकाका शिवजी महतो, भारत बिहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकी रहेका छन् ।

घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुन लगायत भने अझै फरार रहेका छन् ।

गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली प्रहारलगत्तै गौचनलाई तत्काल सिभिल अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।


पुष्प दुलाल