पैसा ठीक पार्नुहोस्, माघमा आउँदै छ मथिल्लो तामाकोशीको डेढ अर्बको आइपिओ



काठमाडौं । लामो समयदेखि माथिल्लो तामाकोशीको साधारण सेयर (आइपिओ)को प्रतिक्षा गरिरहेका लगानीकर्ताहरुलाई खुसीको खबर छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो तामाकोशी आयोजनाले आगामी माघ पहिलो साता डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भएको छ ।

कर्मचारी सञ्चय कोषमा कोष कट्टा गर्दै आएका कर्मचारीलाई साधारण सेयर दिइएको साढे ३ वर्षपछि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता अर्थात् १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको हो ।

आयोजनाले सबैले भर्न मिल्नेगरी कुल सेयरको १५ प्रतिशत छुट्याएको छ । आयोजनाले स्थानीयबासीका लागि पनि १० प्रतिशत सेयर दिने तयारी गरेको छ । स्थानीयले दोलखाका सहकारी संस्थामार्फत पनि सेयर लिन सक्ने व्यवस्था गरिएको छ ।

आइतबार सुरुङ निर्माण प्रक्रिया समेत सम्पन्न हुनेछ । सुरुङ ब्रेक थ्रु भएपछि आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत पुग्नेछ ।

आयोजनाले प्रभावितका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्ने जनाएको छ । स्थानीय प्रभावितलाई समेत आगामी माघमा नै साधारण सेयर बिक्री गर्न लागिएको हो ।

आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । आयोजना निर्माणको काम ९२ प्रतिशत सकिएको छ ।

आयोजना निर्माणले गति लिएको र आइतबार सुरुङ निर्माण प्रक्रिया समेत सम्पन्न हुनेछ । सुरुङ ब्रेक थ्रु भएपछि आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत पुग्नेछ ।

सरकारले यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीको रुपमा स्थापित आयोजनालाई अगाडि बढाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले विशेष पहल गरिरहेको छ ।

आयोजना स्थलमा नै सञ्चालक समितिको बैठक राख्नेदेखि आयोजना प्रमुखलाई आयोजना स्थलमा नै राखेर सानाभन्दा साना समस्या समाधानमा समेत प्राधिकरण नेतृत्व जुटेको छ ।


पुष्प दुलाल