विद्यासुन्दरले काठमाडौंको धूलो सफा गर्ने कुचो किन्नै सकेनन् !
काठमाडौं । महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छैन ।
काठमाडौँ महानगरपािलकाले तत्काल ब्रुमर (यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले ब्रुमरका लागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्रको गर्नुपर्ने अवस्था आएकाले तत्काललाई उक्त यन्त्र खरिद गर्न नसकिने बताए ।
उक्त यन्त्र ल्याउनका लागि पुनःबोलपत्रको प्रक्रिया अघि बढिसकेको बताइएको छ । प्रमुख शाक्यले महानगरको वातावरण विभागलाई निर्देशन दिँदै भने, ‘सफा गर्दा सडक छेउमा रहेको कागजको टुक्रा टिप्ने काम मात्र नगरी सबै स्थानमा धुुलोसमेत सफा गर्न आवश्यक छ ।’
यसैबीच कामपाले एक हप्ताभित्र सक्ने गरी त्रिपुरेश्वर, सुनधारा, नयाँ सडक, रत्नपार्कलगायत स्थानका सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली जग्गामा हरियाली बनाउन रुखबिरुवा रोप्ने काम तीव्ररुपमा अघि बढिरहेको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नयाँ निर्माण र दोस्रो चरणमा निर्माण भइसकेका स्थानमा मर्मत गरिने छ । रासस