४ महिना लगाएर २५ फुट लामो सुरुङ खनेर यसरी चोरीयो बैंक



मुम्बई । हातहतियारको प्रयोग गरेर बैंक लुटिएका समाचार त हामीले कहिलेकाहीँ पढ्दै आएका हौं । त्यतिमात्रै होइन, बैंकको सफ्टवेर ह्याक गरी बैंकको रकम चोरी गरेको समाचार पनि अचेल निकै सुन्न पाइन्छ ।

तर, यो आधुनिक जमानामा पनि सुरुङ खनेर बैंकको रकम चोरी गरिएको घटना सार्वजानिक भएको छ । त्यो पनि ४ महिना लगाएर सुरुङ खनेर । सुन्दै अचम्म लाग्यो यो कुनै फिल्मको कथा होइन, भारतको मुम्बइमा भएको वास्तविक घटना हो ।

चोरहरुले चार महिना लगाएर २५ मिटर लामो सुरुङ खनी मुम्बईको एक बैंकबाट यही शनिबार नगद तथा गरगहनाहरु चोरी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

चोरहरुले बैंक अफ बडौदाको रकम चोरेर फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो बैंक नजिकै भाडामा बस्दै आएका चोरहरुले बसेकै ठाउँबाट सुरुङ खनेर बैंक चोरी गर्न सफल भएका थिए ।

चोरहरुले खोलेको पसल

बीबीसीका अनुसार २५ फुट लामो सुरुङ बैंक लकर भएको कोठामा पुगी ३० वटा लकरमा चोरी गरेको प्रहरीले जनाएको छ । २२५ थान लकरमध्ये ३० वटामा चोरी भएको छ ।

बैंकका कर्मचारीहरुले सोमबार बिहान बैंक खोल्दा मात्रै चोरी भएको थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

कति रकम र गरगहना चोरी भयो भन्ने अहिलेसम्म सार्वजानिक भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ भने चोरहरु फरार छन् ।

चोरहरुले भाडामा लिएको ठाउँमा किराना पसल खोलेका थिए ।


पुष्प दुलाल