फिरौती नदिँदा व्यवसायी शरद गौचनको हत्या भएको खुलासा: गोली हान्ने पक्राउ, योजनाकार फरार



काठमाडौं । मागजति फिरौती नदिएका कारण निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गौचन हत्यामा संलग्न ५ जनालाई पक्राउ गरि मंगलबार सार्वजानिक गरेको छ ।

गत असोज २३ गते दिउँसो बानेश्वरको खरिबोट नजिकैमोटरसाइकलमा आएका २ जनाले गोली हानी गौचनको हत्या गरेका थिए ।

कति रकम मागेका थिए भन्ने प्रहरीले खुलाएको छैन ।

हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा सुटर नुवाकोटका राजिव तामाङ पक्रउा परेका छन् भने मूख्य योजनाकार समिरमानसिंह बस्नेत फरार रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, प्रहरीले हत्यामा संलग्न शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी र सन्तोष गुरुङलाई पक्राउ गरेको छ ।

तर, मूख्य योजनाकार बस्नेतसहित , मनोज पुन, लोप्साङ, गंगा लिङदेन , श्यामबहादुर गुम्बे, अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् ।

प्रहरीका अनुसार हत्याको योजना बनाएपछि उनीहरुले झण्डै एक महिनादेखि गौचनको निगरानी गरेका थिए ।

गुण्डानाइके बस्नेतको योजनामा गौचनको हत्या भएको र हत्यामा मनोज पुनको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।


पुष्प दुलाल