कार्यकर्तालाई देउवाले भने- कम्युनिष्टले जिते तानाशाही आउँछ



नेपालगञ्ज । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताएका छन् ।

मंगलबार नेपालगञ्जमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै भने, ‘कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन । नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ, त्यसैले यो चुनाव जित्न आवश्यक छ ।’

उनले अहिलेको अवस्था चिन्ताजनक भएको पनि उल्लेख गर्दै भने, ‘तपाईहरु ढुक्क भएर नबस्नुहोला, यो चुनाव कुनै पनि हालतमा जित्नुपर्छ भन्ने ढंगले परिचालित हुनुहोला ।’

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै अधिनायकवादलाई परास्त गर्दै आएको उल्लेख गरे ।

‘२००७ सालको जनक्रान्तिले राणा शासन फाल्यौ, २०४६ सालको आन्दोलनले पञ्चायत फाल्यौं, २०६२/६३ को आन्दोलनले अधिनायकबादी राजतन्त्र फालेर लोकतन्त्र ल्याएको हो, जनताको अधिकारकालागि लड्ने पार्टी कांग्रेस बाहेक अर्को छैन ।’ उनले भने ।

उनले निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सिंगो पार्टी एकढिक्का भएर लाग्न पनि निर्देशन दिए ।


पुष्प दुलाल