नेपाली बैंकका एटीएम कार्ड प्रयोग गरेर रकम चोर्ने बुल्गेरियन नागरिक पक्राउ



काठमाडौं । नेपाली बैंकहरुको एटीएम कार्ड प्रयोग गरेर अनाधिकृत रुपमा पैसा झिक्ने बुल्गेरियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेललगायत विभिन्न स्थानमा रहेका एटीएमबाट रकम निकालेको सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बुल्गेरियन नागरिक विटाली वासिलीभीच नेकीटलाई पक्राउ गरेको हो । उनलाई ठमेलको नरसिंहचोकस्थित होटल डिस्कभरीको कोठा नम्बर ३०४ बाट पक्राउ गरेको सिआईबीले जानकारी दिएको छ ।

प्रहरीले उनलाई ग्लोवल आइएमई बैंक, सानिमा बैंक तथा नविल बैंकको एटिएम मेसिनबाट रकम निकालेको स्लीप, विद्युतीय उपकरण खोल्न प्रयोग गरिने औजारसहित पक्राउ गरेको हो ।

विटिलीले न्यूरोड, ठमेल, दरवारमार्ग, सोह्रखुट्टेलगायतका स्थानमा रहेका एटीएमबाट रकम तथा डाटा चोरी गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ अभियुक्तलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको प्रउ जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

अहिलेसम्म ब्यूरोले एटिएम ठगीको अभियोगमा ४ रोमानियाली, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीयलार्इ पक्राउ गरिसकेको छ । उनीहरुबाट हालसम्म नेपाली ८८ लाख ६८ हजार ८५० रुपैयाँ , अमेरिकी डलर ७३ हजार ५ सय ८०, युरो ६४ हजार १ सय ७५ र विभिन्न बैकका एटिएम कार्ड १ हजार ३२६ थान बरामद भएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु