राजधानीमै बसेर टाढाको अनुभब गर्छन् काँठका मतदाता, न विकास छ न सुबिधा



काठमाडौं । नेपालीमा एउटा उखान छ ‘बत्तीमुनिको अध्याँरो’ । काठमाडौं उपत्यकाभित्र रहेका काँठ क्षेत्रका बासिन्दाले यस्तै अनुभव गर्दै आएका छन् ।

राजधानी नजिक भएर पनि आफूहरूलाई राज्यले कहिल्यै सुविधा नदिएको सो क्षेत्रका बासिन्दाको गुनासोे छ । हरेक राजनीतिक आन्दोलनमा काँठ क्षेत्रका नागरिकको योगदान महत्वपूर्ण रहँदै आएको छ ।

विसं २०६२÷६३ को आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत काँठ क्षेत्रका २० भन्दा नागरिकले शहादत प्राप्त गरेका छन् तर नजिकै रहेको सिंहदरबारले कहिल्यै पनि काँठलाई आफ्नो नसम्झेको र सधैँ अपहेलना गरेको सो क्षेत्रका नागरिकको तितो अनुभूति छ ।

‘भन्नलाई काठमाडौं भन्ने मात्रै हो, तर हामीले कहिल्यै काठमाडौंवासी भए जस्तो अनुभव गर्न पाएनौ । हरेक निर्वाचनमा राजनीतिक दलका नेता तथा कार्यकर्ताले सो क्षेत्र सम्झन्छन् तर विजयी भएर गएको दिनदेखि निर्वाचित वा पराजित भएकाले समेत सो क्षेत्रलाई हेर्दैनन्’ काठमाडौं फुटुङका हरिप्रसाद काभ्रेलीको भनाइ हो यो ।

काँठ क्षेत्रले चक्रपथभित्र बस्ने नागरिकलाई दूध, फूल, हरियो तरकारी, खानेपानीसमेत उपलब्ध गराएको छ । सेवा र सहयोग सबै दिएको छ तर राजनीतिक नेतृत्वले कहिल्यै यो क्षेत्रलाई ध्यान नदिएको र विकास तथा भौतिक पूर्वाधारको क्षेत्रका कुनै उल्लेखनीय काम नगरेकोमा उनीहरूको आपत्ति छ ।

काठमाडौँ गोठाटारका मिलन कार्की भन्छन् ‘सिंहदरबार हामी काँठमा बस्नेलाई कहिल्यै आफ्नो लागेन । नेताले चुनावमा उपयोग गरे, विकास निर्माणमा समेत सौतेलो व्यवहार भयो । राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि त्यसपछि कुनै पनि अर्थमा राज्यले हाम्रो भावनालाई सम्बोधन गर्न सकेन ।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता मत माग्दै राजधानीको काँठ क्षेत्रमा केन्द्रित भएका छन् तर स्थानीयले भने चित्तबुझ्दो प्रतिबद्धता राजनीतिक नेतृत्वसँग खोजेका छन् ।

पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्या भोग्नु परेकोमा स्थानीयले मत माग्न पुगेका उम्मेदवारलाई समस्या समाधानका लागि आग्रह मात्रै गरेका छैनन् आगामी दिन विगतको भन्दा फरक हुनुपर्ने अपेक्षा समेत गरेका छन् ।

सरकारले काठमाडौं उपत्यकाभित्रका अधिकांश नगर तथा नगरोन्मुख क्षेत्रलाई गाविसविहीन बनायो र विकासलाई युद्धस्तरमा अगाडि बढाउने घोषणा समेत ग¥यो तर राजधानी नजिक भएर पनि अपहेलितजस्तो भएर बस्नुपरेकामा उनीहरु खुशी छैनन् ।

राजधानी नजिकका गाँगलफेदी, आलापोट, भद्रवास, डाँछी, मूलपानी, गोठाटार, फुटुङ, काभ्रेस्थली, धर्मस्थली, जितपुरफेदी, टोखा, खड्काभद्रकाली जस्ता स्थानमा अझै पनि विकासले गति लिन सकेको छैन ।

ती स्थानमा लामो समयदेखि बस्दै आएका मानिस बाहिरी जिल्लाबाट आउनेको बाहुल्यताका कारण अल्पमतमा पर्दै गएका छन् । वैज्ञानिक योजनको अभावमा वर्षेनी बढ्दै गएको बस्तीका कारण ती स्थानसमेत अव्यवस्थित बस्ती र कंक्रिटको शहरका रूपमा बदलिएका छन् ।

बसाँइ सराइ बढेसँगै बस्ती अव्यवस्थित बन्दै गएको पृष्ठभूमिमा त्यसलाई व्यवस्थित गर्ने मुद्दा कुनै पनि दलका उम्मेदवारसँग नरहेको स्थानीयको गुनासो छ । उनीहरूले राजनीतिक प्रतिबद्धता, लगानीको स्रोत र उपलब्धता मात्रै होइन, देखिने गरी विकासको प्रतिफलसमेत चाहेका छन् । काठमाडौँ क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण राई काँठ क्षेत्रको विकास र राष्ट्रिय आवश्यकता नै आफ्नो प्रमुख राजनीतिक मुद्दा भएको बताउँछन् ।

सो क्षेत्रबाट गत संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट रामेश्वर फुयाँल विजयी भएका थिए । स्थानीयवासीले ‘घर घरमा खानेपानी, टोल टोलमा ढल र सडक’ जस्ता कामलाई योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने माग राखेको र आर्थिक, सामाजिक समृद्धि, व्यवस्थित बस्ती विकास, वातावरण संरक्षण र सुशासनलाई केन्द्रबिन्दुमा राखेर जुन उम्मेदवारले योजना ल्याउँछ उसैलाई मत दिने बताउँदै आएका छन् ।

नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं २ का उम्मेदवार दीपक कुइँकेल आफू स्थानीय पनि भएको र काँठ क्षेत्रको मतदाताको भावनालाई आत्मसात् गरेको बताउँछन् ।

उनले बत्तीमुनि अध्याँरो भनेजस्तै भएका काँठ क्षेत्रका जनतालाई राहत र आशा जगाउन आफू मैदानमा खडा भएको जानकारी दिर्छन् । काँठ क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकास, भौतिक पूर्वाधारले युक्त बस्ती, शिक्षा, स्वास्थ्यमा समान पहुँच तथा कृषिउपज उत्पादनमा बढोत्तरी गर्ने आफ्नो योजना रहेको भन्दै काठमाडौँ क्षेत्र नं ६ का वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदी काँठ क्षेत्रले विगतदेखि भोग्दै आएको अपहेलनालाई सम्बोधन गर्ने आफ्नो कार्यसूची रहेको उल्लेख गर्छन् ।

काँठ क्षेत्रका बस्तीमा बाह्रै महिना सहज यातायात सञ्चालन हुने गरी कच्ची सडकको स्तरोन्नति, कृषि, पर्या पर्यटन र बाग्मती एवं मनोहरा नदीमा प्रदूषण कम गर्ने तथा पानीका मूलको संरक्षण गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

सरकारले पछिल्लो पटक उपत्यका विकास प्राधिकरणमार्फत ‘स्याटेलाइट सिटी’ निर्माणको पहलसमेत गरेको छ । उपत्यकामा काँठ क्षेत्रमा चारवटा स्याटेलाइट सिटी निर्माण एक लाख रोपनीको क्षेत्रमा समेट्ने तयारी गरेको छ ।

त्यस्ता सिटीमा आधारभूत आवश्यकताका सबै सेवा सुविधा पु¥याउने सरकारको लक्ष्य छ । सरकारले काठमाडौँको निश्चित क्षेत्रमा केन्द्रिकृत विकासलाई फराकिलो बनाउन त्यस्तो अवधारणा सारे पनि काम नभएकोमा स्थानीयले उम्मेदवारसँग गतिलो प्रतिबद्धता खोजेका हुन् ।

काठमाडौँ क्षेत्र नं ७ का अर्का उम्मेदवार रामवीर मानन्धर स्थानीयको माग र चाहानालाई सम्बोधन गर्ने गरी योजना बनेको र आफूले मतदातालाई सो विषयमा स्पष्ट प्रतिबद्धता जनाएको बताउँछन् ।


क्लिकमान्डु