यी हुन् पत्रकारलाई समयमै तलबभत्ता नदिने संचारगृह, महासंघको उजुरी



काठमाडौं । पत्रकारलाई समयमै तलबभत्ता नदिने संचारगृहमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघले उजुरी दिएको छ । महासंघले असोज १० गते नै प्रेस रजिस्टार (सुचना विभागका महानिर्देशक) समक्ष उजुरी दिएको भएपनि अझै कारबाही भएको छैन ।

महासंघले गत असोज ९ गतेसम्म पत्रकारले पाउनु पर्ने न्यूनतम तलब तथा दशै पेश्की नपाएको विवरण संकलन गरेर प्रेस रजिस्टार समक्ष निवेदन दिएको महासंघका सचिब रामप्रसाद दाहालले जानकारी दिए ।

महासंघले संस्थागत निर्णय गरेर श्रमजिबी पत्रकारले पाउनुपर्ने तलब भत्ता दिलाइ दिने ब्यवस्था गर्न पत्राचार गरेपनि प्रेस रजिस्टारले उपयुक्त कदम नचालेको सचिब दाहालको भनाइ छ ।

‘हामीले उजुरी गर्दासमेत प्रेस रजिस्टारले कुनै कदम चालेको जानकारी छैन, यस्तो हुनुभनेको संचार ब्यवस्थापनसँग अनुचित लाभ लिएर श्रमजीबी पत्रकारको शोषण गर्नु हो भन्ने ठान्नुपर्ने हुन्छ,’ सचिब दाहालले भने ।

सुचना विभागले श्रमजीबी पत्रकारको तलब भत्ता दिने ब्यवस्था मिलाउन प्रभावकारी काम नगरे महासंघले विभाग विरुद्ध नै आन्दोलन गर्ने सचिब दाहालको भनाइ छ ।

विभागका महानिर्देशक बीरबहादुर राई भने महासंघले सैद्धान्तिक विषय मात्रै उठाएको र तलब भत्ता नपाउने ब्यक्तिको किटान नगरेकोले कारबाही गर्न अप्ठेरो परेको बताए । महासंघको पत्रका सम्बन्धमा सम्बन्धित संचारगृहलाई जानकारी गराइएको र त्यसको जवाफ प्राप्त नभएको राईको भनाइ छ ।

‘महासंघले केही संचारगृहको नाम उल्लेख गरेर श्रमजीबी पत्रकारले न्यूनतम तलब तथा दशै पेश्की नदिएको जानकारी हामीलाई दिएको छ, तर कुन कुन पत्रकारले तलब नपाएका हुन भन्ने यकिन विवरण नभएको र तलब नपाउने सम्बन्धित पत्रकारले उजुरी नदिएकोले हामीले प्रभावकारी कदम चाल्न सकेका छैनौं,’ महानिर्देशक राईले भने ।

तर, दाहालले भने राईको यो तर्कसँग सहमत छैनन् ।

‘संचारगृहको नामै किटान गरेर उजुरी गर्दासमेत कारबाही नगर्नु भनेको सरकारी अधिकारी आफ्नो कर्तब्यबाट च्युत भएको मान्नुपर्ने हुन्छ,’ दाहालले भने ।


क्लिकमान्डु