माधव नेपाललाई जितेका झक्कु सुवेदीले रक्षामन्त्री भीमसेनदासलाई जित्लान् ?



काठमाडौं । ‘पहिले पहिले हामी सुतिसक्दा बत्ती हुन्थेन, हामी उठ्दा बत्ती गइसक्थ्यो । अहिले त बत्ती बाल्न पनि पाइएको छ । छोराछोरीलाई पढ्न समस्या भएको छैन । हामी त असाध्यै खुसी छौँ । विद्युत्भार कटौतीको अन्त्यपछि त नयाँ जीवन पाए जस्तो भएको छ”, यो भनाइ हो तारकेश्वर नगरपालिका– ११ नेपालटारका राम मानन्धरको ।

गत वर्षदेखि मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्यसँगै नागरिकमा खुसियाली छाएको छ । जीवनमा आधारभूत परिवर्तन विद्युत्भार कटौतीको अन्त्यपछि आएकामा यहाँका बासिन्दाले राहतको अनुभव गरेका छन् ।

‘आमा दमको रोगी हुनुहुन्छ, पहिले बिजुली नभएर पानी तताउन समस्या हुन्थ्यो, अहिले त्यस्तो छैन, जनताको यस्तै काम गर्नेलाई मेरो परिवारको मत पक्का’, टोखा नगरपालिका-९ की शान्ति आचार्यले भनिन् ।

प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नं ६ का वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीले आफू र आफ्नो गठबन्धनलाई मत माग्दै घरदैलो अभियानमा पुगेका बेला स्थानीयवासीले विद्युत्भार कटौतीको अन्त्य जस्तै जनताको जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विद्युत्भार कटौतीको अन्त्य गरेको थियो ।

काठमाडौँ महानगरभित्रका सडककोभन्दा महानगरसँग जोडिएका नगरपालिकाभित्रका सडकको अवस्था झनै खराब छ । तारकेश्वर नगरपालिका प्रवेश गर्ने अधिकांश सडक कच्ची छन् । नाम मात्रको कालोपत्र भए पनि नागरिकले दैनिकजसो धुवाँ र धुलोको समस्या भोग्नु परेको छ ।

वाम गठबन्धनका उम्मेदवार सुवेदीसँग नागरिकको आग्रह छ, ‘भत्किएका सडक कालोपत्र गरियोस् ।’

‘धुलोले व्यापार व्यवसाय गर्न समस्या भएको छ । रुघा खोकी कहिल्यै निको हुँदैन । बिहान लगाएको लुगा साँझसम्म मैलो भइसक्छ, म त धुले सडक कालोपत्र गर्नेलाई मत दिन्छु,’ पहिलोपटक मतदानमा सहभागी हुन लाग्नुभएकी फुटुङकी नवीना पाण्डेले भनिन् ।

मत माग्न पुगेका उम्मेदवारसँग अधिकांश नागरिकले जनजीवनसँग जोडिएको विषयमा जिज्ञासा राखेका छन् । उनीहरुले जिज्ञासासँगै व्यावहारिक कार्यान्वयन हुने उत्तरसमेत खोजेका छन् । केहीले विगतमा विजयी भएकाले जनतालाई फर्केर नहेरेको भन्दै गुनासो पनि गरेका छन् ।

चुनावको बेला मात्रै सम्झने कि अरु समयमा पनि जनताले आफ्नो प्रतिनिधि भेट्न पाउने हो ? मतदाताले अधिकांश उम्मेदवारसँग राख्ने जिज्ञासा यही यो । संविधान सभाको दोस्रो निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान विजयी भएका थिए।

अहिले पनि सो क्षेत्रमा रक्षा मन्त्रीसमेत रहनुभएका प्रधान नै उम्मेदवार छन् । उनले पनि निर्वाचन अभियान शुरु गरेका छन् । प्रधान माओवादीका नेता झक्कु सुवेदीसँग प्रतिस्पर्धा गर्दैछन् ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा काँग्रेसले ११ हजार ३१५, नेकपा एमालेले १२ हजार ७९८, माओवादी केन्द्रले तीन हजार ६९३ र राप्रपाले ९५६ मत पाएको थियो । यस आधारमा सो क्षेत्रमा वाम गठबन्धनको १६ हजार ४९१ र लोकतान्त्रिक गठबन्धनको १२ हजार २७१ मत छ । वाम गठबन्धन चार हजार २२० मतले अगाडि देखिएको छ ।

सो क्षेत्रको उम्मेदवार रहनुभएका मन्त्री प्रधान काठमाडौँका स्थानीय बासिन्दा हुनुहुन्छ भने माओवादी केन्द्रका स्थायी समिति सदस्य रहनुभएका सुवेदी रोल्पाका हुन् । मन्त्री प्रधान र नेता सुवेदीबीच नै सो क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको छ ।

मतदातासँग भेटघाटमा रहनुभएका सुवेदी जनताको चाहना जस्तै कालोपत्र सडक, विकास निर्माणको एजेण्डालाई साकार पार्न स्थिर सरकार निर्माण गर्ने लक्ष्यका साथ आफू उम्मेदवार भएको बताउँछन् ।

उनी आफू रोल्पाको भए पनि संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भएको, पछिल्लो दिनमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्मको तयारीका कारण आफू र आफ्नो गठबन्धन विजयी हुने विश्वास व्यक्त गर्छन् ।
‘केही मान्छेले म रोल्पाको भएको भन्दै गलत प्रचार गरेका छन्, तर मुलुकको जुनसुकै स्थान पनि मेरो लागि आफ्नै ठाउँ जत्तिकै महत्वपूर्ण छ,’ सुवेदीले भने ।

काँग्रेस उम्मेदवार प्रधान आफूलाई विगतमा पनि काठमाडौँ क्षेत्र नं ६ का जनताले विजयी गराएको र यसपटक पनि आफू नै विजयी हुने बताउँछन् ।

निर्वाचन प्रचार अभियान शुरु भइसकेको जानकारी दिँदै उनी भन्छन्, “काठमाडौं क्षेत्र नं ६ लाई नमूना क्षेत्र बनाउने योजना, नीति र कार्यक्रम मसँग मात्रै छ ।’

सो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११, टोखा नगरपालिकाको वडा नं ८, ९, १० र ११ रहेको छ ।

तीमध्ये गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका तीन वडामध्ये दुईवटामा काँग्रेस र एउटा वडामा एमाले विजयी भएको थियो । तारकेश्वर नगरपालिकाको आठवटा वडामध्ये सातमा एमाले र एउटामा काँग्रेस विजयी भएको थियो ।

सोही क्षेत्रमा काठमाडौँ महानगरका पूर्वप्रमुख केशव स्थापित पनि प्रदेश सभाको उम्मेदवार छन् । ‘हामीले निर्वाचन अभियान शुरु गरिसकेका छौँ, हाम्रो गठबन्धन विजयी हुन्छ,’ उनले भने । रासस


पुष्प दुलाल