६ करोड लगानीमा धर्मशाला निर्माण थालियो, १ वर्षमा सम्पन्न हुने



काठमाडौं । कुपण्डोलस्थित गुरुद्वार नानक सत्सङ्ग संरक्षण समितिले सोही परिसरमा करिब ६ करोड रुपैयाँको लागतमा धर्मशाला निर्माण गर्न लागेको छ ।

करिब ४ हजार वर्गफिटको क्षेत्रफलमा फैलिएको उक्त धर्मशाला भूकम्प प्रतिरोधात्मक अत्याधुनिक सेवासुविधासहित ३५ कक्ष तथा ४ तल्लाको हुनेछ । करिब १ वर्षको समयावधिमा निर्माण पूरा गरिने धर्मशालामा स्वदेशका विभिन्न स्थान तथा अन्य मुलुकबाट काठमाडौँ तीर्थयात्रामा आएका यात्री बसोबास गर्न पाउनेछन् ।

समितिका अध्यक्ष प्रितम सिंहले काठमाडौंको पाशुपत क्षेत्र, थापाथली, बालाजुलगायत स्थानमा प्राचीन गुरुद्वार रहेको र तिनको दर्शन गर्न आउने यात्रीको सहजतालाई ध्यानमा राखेर सो भवन निर्माण गर्न लागिएको जानकारी दिए ।

संस्थाका सचिव हरपाल सिंहले स्वदेश तथा विदेशमा छरिएर बसेका शिख धर्मावलम्बीबाट चन्दा संकलन गरी धर्मशाला निर्माण गर्न शुरु भएको बताउँदै सो धर्मावलम्बीका विभिन्न स्थानमा रहेका सम्पदा संरक्षणमा जोड दिए । रासस


पुष्प दुलाल