डेढ करोड मतदातालाई ३ लाख सुरक्षाकर्मी



काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब ३ लाख सुरक्षाकर्मी परिचालित हुने भएका छन् ।

निर्वाचनको पहिलो घेरा सम्हाल्ने नेपाल प्रहरीले कुल प्रहरीको ७० प्रतिशत जनशक्ति परिचालन गर्ने भएको छ ।

५० हजार प्रहरी निर्वाचन सुरक्षाका लागि परिचालित हुने भएका छन् । प्रहरी प्रवक्ता मनोज नेउपानेकाअनुसार ७० प्रतिशतको हाराहारीमा प्रहरी परिचालित हुने छन् । बाँकी रहेका प्रहरी भने नियमित सुरक्षाका लागि परिचालित हुनेछन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै म्यादी प्रहरी निर्वाचनमा परिचालित हुनेछन् । ती सबै गरी करिब ३ लाख सुरक्षाकर्मी निर्वाचन प्रयोजनका लागि खटिनेछन् ।

सरकारले सम्पूर्ण उम्मेदवारदेखि डेढ करोड बढी मतदातालाई सुरक्षा व्यवस्था गरिएको जनाएको छ । गत स्थानीय तहको निर्वाचनको अनुभव र सुरक्षा चुनौतीहरुको आधारमा सरकारले क ख र ग वर्गमा सुरक्षा रणनीति बनाएको छ ।

स्थानीय तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न भएकोले जनताले चुनाव रुचाएकाले नागरिक तहबाटै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सहयोग पुग्ने बताइन्छ ।


पुष्प दुलाल