बैंकको नाफाः कुमारी र एनबीको घट्यो, लक्ष्मी र सिभिलको बढ्यो



काठमडौं । सोमबार ४ वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजानिक गरेका छन् । वित्तीय विवरण सार्वजानिक गर्ने ४ बैंकमध्ये २ बैंकको नाफा बढेको छ भने २ बैंकको नाफा घटेको छ ।

ब्याजदर नघटेका कारण ब्याज लगायतमा बैंकहरुको खर्च बढ्दा त्यसको असर नाफामा देखिएको हो । आगामी केही महिना ब्याजदर घटेन भने त्यसको असर बैंकहरुको नाफामा पर्ने प्रष्ट संकेत देखिएको छ ।

कुमारी बैंक

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा कुमारी बैंकले ११ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक बर्षको यसै अवधिमा बैंकले १३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको गत आर्थिक बर्षको ३ महिनाको भन्दा चालु आर्थिक बर्षको ३ महिनामा २ करोड ५४ लाख रुपैयाँले नाफा घटेको छ ।

गत वर्षको असोज मसान्तमा बैंकको चुक्ता पुँजी ४ अर्ब ६१ करोड रुपैयाँ थियो । यो बर्षको असोजमा यस्तो चुक्ता पुँजी बढेर ६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंकले गत अबमा काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायतसँग मर्जर गरी चुक्ता पुँजी बढाएको हो ।

गत बर्षको असोजमा ४० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यो बर्षको असोजमा यस्तो निक्षेप बढाएर ५४ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ । बैंकको कर्जा तथा लगानी पनि गत बर्षको असोजमा ३२ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा यो बर्षको असोजमा बढेर ४७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक बर्षको असोजको तुलनामा बैंकको कष्ट अफ फण्ड निकै बढेको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५१ पैसामात्र रहेको छ ।

लक्ष्मी बैंक

यो बैंकले चालु आवको पहिलो ३ महिनामा १७ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । यो गत आर्थिक बर्षको तुलनामा करिब ३ करोड ५० लाखले बढी हो । गत वर्षको यसै अवधिम बैंकले १३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको चुक्ता पुँजी गत असोज मसान्तमा ३ अर्ब ३ करोड रुपैयाँ रहेकोमा यस बर्षको असोजमा ८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

बैंकले ५८ अर्ब ६४ करोड निक्षेप संकलनगरी ५४ अर्ब ९४ करोड कर्जा प्रबाह गरेको छ । बैंकको जगेडा कोषमा २ अर्ब १३ करोड रहेको छ । गत बर्षको असोज मसान्तको तुलनामा बैंकको खराब कर्जामा केहि बढोत्तरी भएको छ ।

यस्तो कर्जा अघिल्लो बर्षको पहिलो त्रैमासमा १.६३ प्रतिशत रहेकोमा यस मसान्तमा १.७८ प्रतिशत पुगेको छ भने, बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा रहेको छ ।

एनबी बैंक

यो बैंकले चालू आवको पहिलो ३ महिनामा १५ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो बर्षको तुलनामा करिब ७ करोडले कम हो । गत वर्षको यसै अवधिमा बैंकले २२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत बर्षको असोजसम्ममा ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु आवको असोजसम्ममा ४२ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा तथा लगानी गत बर्षको असोजमा ३४ अर्ब २७ करोड रुपैयाँ रहेकोमा यो बर्षको असोजमा बढेर ३८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

बैंकको चुक्तापुँजी ८ अर्ब ८ करोड पुगेको छ गत बर्षको सोही अबधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको थियो । पुँजी वृद्धिले बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँमात्रै रहेको छ । अघिल्लो बर्षको सोही अबधिमा यस्तो आम्दानी २२ रुपैयाँ रहेको थियो ।

बैंकले खराब कर्जा प्रतिशत भने घटाएको छ । अघिल्लो बर्षको सोही अबधिमा १.१६ प्रतिशत रहेको खराब कर्जा चालु आबको ३ महिनामा ०.७३ प्रतिशतमा झरेको छ ।

सिभिल बैंक

यो बैंकले चालु आबको पहिलो ३ महिनामा ११ करोड ३३ लाख नाफा कमाएको छ । बैंकले अघिल्लो बर्ष सोही अबधिमा १ करोड ७१ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो बर्षको पहिलो ३ महिनाको तुलनामा बैंकले ९ करोड ६२ लाख रुपैयाँले नाफामा वृद्धि गरेको हो ।

बैंकको चुक्तापुँजी अघिल्लो बर्ष ३ अर्ब ८ करोड रहेकोमा यस बर्षको पहिलो त्रैमासीक अबधीमा ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप ३४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको पहिलो तीन महिनामा ३१ अर्ब ३४ करोड रहेको थियो ।

कर्जा तथा अन्य लगानी ३० अर्ब ९५ करोड रहेको बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा रहेको छ भने खराब कर्जा ४.६९ प्रतिशत रहेको छ ।


पुष्प दुलाल