टनकपुरबाट थप ४० मेगावाट विद्युत् ल्याउन दिल्ली जाँदै कुलमान



काठमाडौं । ढल्केबरमा सवस्टेशन निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदारको बदमासीका कारण समस्यामा परेको नेपाल विद्युत् प्राधिकरण थप विद्युत् आयातका लागि वार्ता गर्न आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रवक्ता प्रबल अधिकारी र लेखा शाखाका प्रमुख समेत रहेका उपकार्यकारी निर्देशक लेखनाथ कोइराला नयाँ दिल्ली जान लागेका हुन् ।

प्राधिकरणकाअनुसार टनकपुर नाकाबाट थप ४० मेगावाट विद्युत् आयातको विषयमा नयाँ दिल्लीमा रहँदा छलफल हुने कार्यसूची रहेको छ । चिनियाँ ठेकेदारको बदमासीका कारण आगामी हिउँदमा ढल्केबर सवस्टेशनबाट थप विद्युत् आयात हुन नसकेपछि टनकपुर मार्गलाई वैकल्पिक स्रोतको रुपमा प्रयोग गर्न लागिएको हो ।

प्राधिकरणको कार्य तालिकाअनुसार यसै महिना ढल्केबर सवस्टेशनको काम सम्पन्न हुने थियो । ढल्केबर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनलाई २२० केभीमा चार्ज गरेर सोही प्रसारण लाइन मार्फत २०० मेगावाट विद्युत् आयात गर्ने तयारीमा प्राधिकरण थियो ।

सो प्रसारण लाइनबाट विद्युत् आयात गरेपनि नगरेपनि प्राधिकरणले वार्षिक १ अर्ब रकम प्रसारण शुल्कवापत तिर्नुपर्नेछ । हाल सो प्रसारण लाइनबाट १४५ मेगावाट विद्युत् आयात भइरहेको छ ।

सवस्टेशन सकिएको भए सोही प्रसारण लाइनबाट सस्तो मूल्यको विद्युत् आयात गर्न प्राधिकरणलाई सहज हुने थियो । सो प्रसारण लाइनबाट विद्युत् आयात गर्दा प्रतियुनिट रु ८.८८ मात्रै पर्दथ्यो ।

सवस्टेशनको काम नै नसकिएपछि प्राधिकरणले टनकपुरमा १०० एमभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ ।

बिहिबार मात्रै प्राधिकरण र भारतको पावर टे«ड कर्पोरेशनसँग ४० मेगावाट विद्युत् आयातको सम्झौता नविकरण गरिएको छ । टनकपुरमा रहेको प्राधिकरणको सवस्टेशनको स्तारोन्नती गरेर ८० मेगावाट विद्युत् आयात गर्ने सोचमा प्राधिकरण छ ।

नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त समितिको बैठकले समेत सो स्थानबाट विद्युत् आयात गर्न सैद्धान्तिक सहमति दिएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले हिउदको विद्युत् माग धान्ने उपायको खोजीमा आफूहरु आज भारत जान लागेको बताए ।

उनले भने प्राधिकरणले विभिन्न उपायको खोजी गर्ने क्रममा नै टनकपुरलाई पहिलो बनाएको छ । हिउँदको माग धान्न त्यसले सहयोग गर्नेछ भन्नेमा हामी व्श्विस्त छौ ।


पुष्प दुलाल