जब किरियापुत्री नै मलामी गए…



दमक । ठूलो बुबा एवं जेठा ससुराको निधन भएपछि किरियापुत्री समेत मलामी गएका छन् । ४ दिन अघिदेखि आफ्ना बुबाको काजकिरिया गर्दै आएका भतिजा र भतिजे बुहारी विहीवार आर्यघाट पुगेर ठूलो बुबा एवं ससुरालाई श्रर्दाञ्जली दिएका हुन् ।

मोरड.को उर्लावारी स्थित बक्राह खोलामा गरिएको अन्त्येष्टी कार्यमा भतिज प्रेमल कुमार खनाल र जेठी भतिजे बुहारी छाँया खनाल सहभागी थिए । किरियापुत्री झापाको दमकबाट बक्राहखोला पुगेका थिए ।

सहोदर भाई मित्र प्रसाद खनालको निधन भएको ४ दिनपछि दाजु देवीप्रसाद खनालको बुधवार साँझ निधन भएको थियो । किरियापुत्री आर्यघाट पुगेको देखेर धेरैजसो मलामीले आश्चर्य व्यक्त गरे भने अन्यले काजकिरियालाई समय सापेक्ष बनाउन मद्धत मिलेको चर्चा गरे ।

विगतमा किरियापुत्रीले मतदान गरेको, परिक्षा दिएको जस्ता कुरा चर्चामा आउने गथ्र्यो ।

भाई मित्र प्रसादको ८४ वर्षको उमेरमा गत आइतवार साँझ ६ बजेर २५ मिनेटमा निधन भएको थियो । उनको निधन भएको ७२ घन्टा २५ मिनेटपछि दाजु देवी प्रसादको ९१ वर्षको उमेरमा बुधवार साँझ ६ बजेर ५० मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२ किरियापुत्री अन्त्येष्टी कार्यमा सहभागी भएपनि जेठा छोरा विदुर खनाल र अर्की बुहारी उर्मिला भने परम्परालाई निरन्तरता दिन घरकै कोरामा रहेका थिए ।


पुष्प दुलाल