आगामी साता पौने ९ अर्बको ८ वर्षे विकास ऋणपत्र



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साता ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

ऋणपत्र किन्न चाहनेहरुले गरेको बोलकबोलको आधारमा ब्यादर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुनेछ ।

२०८२ कात्तिक १३ गते म्याचुअड हुने उक्त ऋणपत्रमा कम्तीमा ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाइनेछ । ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाइनेछ ।

ऋणपत्र कात्तिक १२ गते आइतबार दिउसो ३ बजेसम्म बोलकबोल हुनेछ भने कात्तिक १३ गते निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यो ऋणपत्र किन्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

सरकार ग्यारेन्टी हुने भएकाले ऋणपत्रमा गरिएको लगानीमा जोखिम हँदैन । यसरी ऋणपत्रमार्फत् उठाएको पैसा सरकारले देशको विकास निर्माणका लागि खर्च गर्नेछ ।

सरकारले चालु आर्थिक वर्षमा १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । जसमा ७२ अर्बको विकास ऋणपत्र, ६ अर्बको नागरिक बचत पत्र, ६६ अर्बको ट्रेजरी बिल र १ अर्बको वैदेशिक रोजगार बचतपत्र उठाउने लक्ष्य छ ।

यस्ता ऋणपत्र तथा बचतपत्रहरु निष्काशन गरी सरकारले आफ्नो स्रोत बढाउँछ । कति निष्काशन गर्ने भन्ने राष्ट्रिय योजना आयोगको त्रिवर्षिय योजना अन्तर्गत रहेर हरेक वर्ष बजेटमा सरकारले वर्षभरीको लक्ष्य सार्वजानिक गर्छ ।


पुष्प दुलाल