महानगरले काठमाडौंको भुरुङखेलमा अकुप्रेसर पार्क बनाउने



काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १८ को भुरुङखेल चौरमा अकुप्रेसर पार्क बन्ने भएको छ । महानगरपालिकाले २५ लाख रुपैयाँको लागतमा अकुप्रेसर पार्क निर्माण गर्न लागेको हो ।

महानगरपालिकाका १८ नम्बरको वडाध्यक्ष न्युच्छेकाजी महर्जनले भुरुङखेल पार्कलाई अकुप्रेसर पार्कको रुपमा विकसित गर्न लागिएको जानकारी दिए ।

‘अकुप्रेसर पार्क निर्माणका लागि प्रारम्भिक अध्ययन सकिएको छ, अव्यवस्थिते पार्कलाई व्यवस्थित बनाउने कार्य हुँदैछ,’ महर्जनले क्लिकमाण्डूसँग भने ।

पार्कभन्दा २ सय मिटरको दुरीमा नरदेवी अस्पताल पनि भएकाले सो स्थानमा अकुप्रेसर पार्क निर्माण गर्न उपयुक्त भएको उनको दाबी छ ।

‘आयुर्वेदिक चिकित्सा प्रणालीका लागि नरदेवी अस्पताल प्रसिद्ध छ, अस्पताल नजिकै अकुप्रेसर पार्क निर्माण गर्दा सबैलाई फाइदा हुन्छ,’ उनले भने ।

भुरुङखेलको सार्वजनिक जग्गालाई स्थानीयले हाल पनि पार्क रुपमा उपयोग गर्दै आएका छन् । उचित संरक्षणको अभावमा पार्क व्यवारिसे अवस्थामा छ ।

हाल महानगरपालिकाको वडा नम्बर १८ को अगुवाईमा पार्कलाई हराभरका साथै स्वास्थ्यवर्धक बनाउन लागिएको हो ।

अध्यक्ष महर्जनका अनुसार पार्कलाई स्वच्छ र सफा बनाउनका डुङ्गा बिछ्याउने, पुराना रेलिङमा रंग रोधन गर्ने, बिग्रेका भाँचिएका कुर्सीलाई मर्मत तथा नयाँ थप गर्ने, फुलका विरुवा, दुवो रोप्नेलगायतका काम गरिने जानकारी दिए ।

अकुप्रेसर पार्कका रुपमा विकसित गर्नका लागि ट्रयाक (हिँड्ने बाटो)मा ग्रेगर (खोलाका बगरका गोलो ढुङ्गा) बिछ्याइने छ ।

मेलम्ची खानेपानीको पाइप बिछ्याउनका लागि सडक भत्काइएकाले धूलो-धूँवाबाट काठमाडौं बासी एकदमै ग्रसित छन् । पार्कको निर्माणसँगै स्वच्छ हावामा शास पर्ने पाउने नागरिकको अधिकार सुनिश्चित हुनेमा उनी विश्वस्त छन् ।


पुष्प दुलाल